काठमाडौं, ८ जेठ । प्रतिनिधिसभाको बैठकमा नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)का सांसद्बीच ‘जनयुद्ध’ शब्दका कारण बाझाबाझ परेको छ।
सरकारले जेठ ५ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द उल्लेख गरेपछि एमाले सांसद् तथा पार्टी सचिव योगेश भट्टराई र माओवादी केन्द्रका सांसद् तथा सचिव देवेन्द्र पौडेलबीच ‘जनयुद्ध’ले बाझाबाझ परेको हो।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सचिव भट्टराईले भने, ‘आज मेरा केही प्रश्न नेपाली कांग्रेसप्रति छ। सम्बोधन (नीति तथा कार्यक्रम) को पहिलो नम्बर बुँदामा हाम्रो असहमति छ। यहाँ विगतमा भएका आन्दोलनहरूको व्याख्या गर्दै जनयुद्ध भन्ने शब्द पनि उच्चारण भएको छ। यो विषयमा संविधानसभामा पर्याप्त बहस भएको हो। २०७२ सालको संविधानपछि नेपालका कुनै पनि सरकारी दस्तावेजहरूमा यो शब्द उल्लेख भएको छैन। पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहालजीले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनुभएको छ।’
त्यसपछि संसद्मा बोल्न आएका माओवादी सचिव पौडेलले उनको भनाईप्रति असहमति जनाउँदै भने, ‘यो जनयुद्धको बारेमा माननीयज्यूलाई एकपटक डिक्सनरी पल्टाएर हेर्न आग्रह गर्न चाहन्छु। यो माछा युद्ध थियो? भालु युद्ध थियो? जंगलका अर्नाहरू लडेका थिए कि रुख र ढुंगाहरू लडेका थिए? मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ। मानिसका छोराहरू लडेको युद्ध थियो। नेपाली जनतालाई सार्वभौम बनाउन, संविधानसभाबाट संविधान बनाउनका निम्ति जनयुद्ध लडिएको थियो। म हजारपटक आँखा जुधाएर बहस गर्न तयार छु, आउनुस् बहस गर्न।’
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पहिलो बुँदामा जनयुद्ध शब्द उल्लेख गर्दै लेखिएको छ, ‘विभिन्न कालखण्डमा भएका राजनीतिक क्रान्ति, जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनलगायतका बलिदानीपूर्ण संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञानअज्ञात सहिदहरूप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दछु।’