Logo

नक्कली शरणार्थी प्रकरणले मलाई पनि धक्का लागेको छः रघुजी पन्त (भिडियोसहित)



काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाल राष्ट्रकोसमेत बेइज्जत भएको टिप्पणी गरेका छन् ।  हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीतिककर्मीहरुमा आएको वैचारिक स्खलनलाई छर्लङ्ग पारिदिएको बताए । उक्त घटनाले आफूलाई पनि मानसिक रुपमा धक्का लागेको उनको भनाई छ ।

‘यो घटनाले हाम्रो बेइज्जती, देशको बेइज्जती त भयो । मलाई पनि साच्चै भन्नुहुन्छ भने एक प्रकारको धक्का लागेको छ । राजनीतिमा क्यारिअर बनाइसकेका नेपाली कांग्रेसबाट मन्त्री भएको मान्छे, माओवादीबाट, एमालेबाट मन्त्री भएको मान्छे, अहिले त एमालेका पदाधिकारी नै रहेका मान्छे पनि त्यसमा पर्नु भएको छ । वास्तवमा मलाई पनि मानसिक रुपमा धक्का लागेको छ, कस्तो, के भएको होलाजस्तो लाग्छ ।’ उनले भने, ‘यो दुःखद् घटना हो, राजनीतिककर्मीहरुमा कतिसम्म वैचारिक स्खलन भएछ भन्ने कुरा देखाउँछ । बडा दुःखद् छ यो ।’

साथै, फरक प्रसंगमा उनले सरकारको नीति तथा कार्यक्रम आलोचनायोग्य रहेको बताए । नीति तथा कार्यक्रममा वातावरण, शिक्षा, स्वास्थ्य र मुलुकको आर्थिक संकटका बारेमा ध्यान दिन नसकिएको उनको आरोप छ । सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेका कुरा पत्याउन नसकिने उनको भनाई छ ।

‘बेच्न पाइन्छ भनेर इन्डियालाई सबै चुरेको ढंगा माटो बेच्ने हो र ! नेपाल आफैं विकासोन्मुख अवस्थामा छ, नेपालमा धेरै ठाउँमा बाटोघाटो बन्दैछन् । भोलि नेपाललाई रोड, माटो, ढुंगा चाहियो भने कहाँ जाने ? आज इन्डियालाई बेच्ने, कसको दवाबमा त्यो नीति कार्यक्रममा ल्याउनु भएको हो ? त्यो सम्भावना खोज्ने भनेर पटक–पटक आउँछ, कसको दवाबमा आउँछ म जान्दिन । यो नेपालको वातावरण विनास गर्ने हो,’– उनले भने ।

सरकारले अहिले तलब र पेन्सन खुवाउन नसकेको अवस्थामा नीति कार्यक्रममार्फत आश्वासन बाँडेको उनको आरोप छ । नीति तथा कार्यक्रममा उल्लेख भएका कतिपय राम्रा कुराहरुमा स्रोतको पहिचान नगरी राखिएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्