काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले प्रतिनिधि सभामा सकारको कान र आँखा छ कि छैन भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले गाईमा देखिएको लम्पी स्किन रोगका बारेमा पटक–पटक आवाज उठेपनि सरकारले त्यसबारेमा कुनै चासो नदेखाएको उनले बताए ।
‘म सरकारको कान र आँखा छ कि छैन भनेर सोध्न उभिएको छु । यदि सरकारको कान र आँखा छ भने यो सदनमा पटक–पटक लम्पी स्किन रोगका बारेमा माननीयज्यूहरुले विषय राख्नुभयो । मैले पनि पटक–पटक विषय राखेँ । देशैभरी यो समस्या छ । पटक–पटक भनियो । सरकार सुन्दैन, सरकार देख्दैन,’– उनले भने ।
साथै, सरकारले गाईमा देखिएको लम्पी स्किन रोगको नियन्त्रण र कृषकलाई उचित राहतको व्यवस्था गर्न उनले सरकारसमक्ष आग्रह गरेका छन् ।
‘तत्काल यो समस्या समाधान, रोग नियन्त्रण र गाई पालक कृषकहरुलाई राहतको लागि म माग गर्न चाहन्छु,’– उनले भने ।