काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले एमालेलाई विश्वविद्यालय र अध्यक्ष केपी शर्मा ओलीलाई भिसीको संज्ञा दिएका छन् ।
आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले हिजो (सोमबार) माओवादी सांसद माधव सापकोटा ‘सुबोध’ ले ओलीलाई ‘ हेडमास्टर’ भनेकोतर्फ लक्षित गर्दै ओली हेडमास्टरमात्रै नभएर भिसी, प्रोफेसर, डाक्टर, इन्जिनियर, आर्किटेक्च भएको दाबी गरेका हुन् ।
‘हेडमास्टर भन्नुभयो । हामी आक्रोशित छैनौं । नेकपा (एमाले) लोकतन्त्रको, राष्ट्रिय स्वाधीनताको, सामाजिक न्यायसहितको परिवर्तनको पूनर्जागरण र राष्ट्रिय आन्मविश्वास निर्माणको विश्वविद्यालय हो । तपाईँहरुले दिएको उपाधी हामीलाई पुग्दैन ।’ उनले थपे, ‘केपी ओली यो विश्वविद्यालयको भिसी हो, प्रोफेसर, डाक्टर हो, इन्जिनियर हो, आर्किटेक्च हो, सबै हो । तपाईँहरुले कम्तिमा सिक्न पाउनु भयो ।’