Logo

कीर्तिमानी सगरमाथा आरोही बुढालाई राष्ट्रपति पौडेलको बधाई



काठमाडौं, ९ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन्।

राष्ट्रपति पौडेलको सो बधाई सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिका सुपुत्री अवज्ञा पौडेलले आज यहाँ आयोजित कार्यक्रममा बुढामगरलाई हस्तान्तरण गरे।

ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछिपनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहणमा बुढामगरले राखेको विश्व किर्तिमान लगन, साहस र गौरवको प्रतीकका रुपमा सबैका लागि सदैव प्रेरणाको विषय हुनेछ भन्ने आफूलाई विश्वास लागेको राष्ट्रपति पौडेलले बधाई सन्देशमा उल्लेख गरेका छन्।

‘घुँडामुनिको शारीरिक भाग गुमाउँदा पनि कुनै हिम्मत नहारी आफ्नो दैनिक जीवनयपानलाई सहज एवम् सरल बनाउँदै सगरमाथा आरोहणजस्तो दुरुह तथा साहसिक कार्य सफलतापूर्वक सम्पन्न गर्नु तपाईंको आफ्नो दृढ इच्छाशक्ति र मेहनतको प्रतिफल हो’, राष्ट्रपति पौडेलको सो सन्देशमा भनिएको छ।

राष्ट्रपति पौडेलले शारीरिक अशक्त व्यक्ति कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य व्यक्तिमा जगाउन यो सफलता उदाहरणीय बनोस् भन्ने कामना गरेका छन्।



प्रतिक्रिया दिनुहोस्