Logo

शक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन : मन्त्री शर्मा



काठमाडौं, ९ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी नभएको बताएका छन्। दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो सगरमाथा १०२ दशमलव ४ मेगाहर्जको २७औँ वार्षिक उत्सवको अवसरमा मन्त्री शर्माले व्यक्तिको कमजोरीलाई देखाएर व्यवस्थाको कमजोरी हो भन्नु गलत हुने बताए।

‘व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन। व्यक्तिको कमजोरीलाई देखाएर व्यवस्थामाथि प्रहार हुनुहुँदैन। व्यक्ति र कमजोरी परिवर्तन गर्न सकिन्छ। यसका लागि सञ्चार माध्यम र राजनीतिकर्मीहरूको दायित्व साझा छ, राजनीतिक स्वतन्त्रताका लागि जे भनेर उपलब्धि प्राप्त गर्यौं, त्यो प्यारो छ’, उनले भने।

गणतन्त्रमा नागरिकले अनुभूत गर्न सक्ने गरी सेवा प्रवाह गर्नु नै महत्त्वपूर्ण हो भन्दै उनले भने, ‘उपलब्धिको रक्षा हाम्रो दायित्व हो। गणतन्त्र, लोकतन्त्र र समावेशिताले ठूलो उपलब्धि हासिल गरेको छ। एलिट वर्गको सिन्डिकेट तोडिएको छ।’

मन्त्री शर्माले रेडियो सगरमाथाले लोकप्रियता कायम गर्न सकेकोमा शुभकामना व्यक्त गर्दै यस सञ्चार माध्यमबाट सञ्चालित कार्यक्रमबाट धेरै लाभदायक भएको बताए। उनले सूचना र सञ्चारको भरपर्दो साधन रेडियोलाई दीगो बनाउन श्रोताको अपेक्षाअनुसार प्रतिस्पर्धी कार्यक्रम बनाउन आग्रह गर्दै नयाँ प्रविधिको विकासअनुसार अगाडि बढ्न सफलताको शुभकामना व्यक्त गरे।

उनले रेडियोका कार्यक्रम सबैले सुन्न लायक भयो भने राम्रो हुने र लोकप्रिय हुने उल्लेख गरे।



प्रतिक्रिया दिनुहोस्