Logo

थाइल्याण्डमा विद्यालयको छाना खस्दा ७ जनाको मृत्यु, २३ जना घाइते



एजेन्सी । उत्तरी थाइल्याण्डमा विद्यालयको खेलकुद भवनको छाना भत्किँदा सात जनाको मृत्यु हुनाका साथै अन्य २३ जना घाइते भएका छन्। थाई सरकारका प्रवक्ताले मङ्गलबार विज्ञप्तिमार्फत सो घटनाको जानकारी दिएका छन्।

दुर्घटना बेलुका करिब ७:०० बजे भएको थियो। स्थानीय समय अनुसार सोमबार फिचित प्रान्तको एक प्राथमिक विद्यालयको खेलकुद भवनको छाना भारी वर्षाका कारण भत्किएको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ।

प्रधानमन्त्री प्रयुत चान-ओ-चाले दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै बेपत्ताको खोजी कार्यलाई प्राथमिकतामा राख्न, क्षतिको विवरण सङ्कलन गर्न र पीडितलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

स्थानीय सञ्चार माध्यमहरूले आँधीले भवनको धातुको छानामा क्षति पुर्याउदा सम्पूर्ण संरचना भत्किएको उल्लेख गरेका छन्।

छानो खसेपछि विद्यार्थी, अभिभावक र विद्यालयका कर्मचारीहरू भग्नावशेषमा फसेका थिए।



प्रतिक्रिया दिनुहोस्