Logo

पाठ्यपुस्तकबाट सन्दुक रुइतको जीवनी हटाउनु देशका लागि दुर्भाग्य होः उपसभामुख राना



काठमाडौं, १० जेठ । उपसभामुख इन्दिरा राना मगरले आफू देशको आवश्यकताले राजनीतिमा आएको बताएकी छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजनीतिमा आउने कुनै चाहना नभएपनि देशको आवश्यकताको आधारमा आएको बताएकी हुन् ।

‘समाज सेवाबाट राजनीतिमा देशको आवश्यकताले गर्दा आएको हो । राजनीति मेरो रूची थिएन, देशलाई आवश्यकता पर्यो,’– उनले भनिन् ।

प्रतिनिधि सभाका सांसद र जनप्रतिनिधिहरुले दलगत स्वार्थ र व्यक्तिगत स्वार्थबाट माथि उठ्न आवश्यक रहेको उनको भनाई छ । जनप्रतिनिधिहरुले देश बनाउने सार्वजनिक स्वार्थलाई बोकेर हिँड्न आवश्यक रहेको उनले बताईन् ।

‘१३ वटा पार्टी छ । तीन जना स्वतन्त्रबाट आउनु भएको छ । सबैलाई हामीले कसरी लोकतान्त्रिक प्रणालीभित्र ल्याउन सकिन्छ भनेर काम गर्ने हो । हाम्रो सोच एउटै हुनुपर्यो । सभामुख र उपसभामुखमात्रै होइन, आम नेपाली जनताले छानेर पठाएका जतिपनि प्रतिनिधिहरु हुनुहुन्छ, उहाँहरु पार्टीगत स्वार्थ र व्यक्तिगत स्वार्थबाट माथि उठेर देश बनाउने सार्वजनिक स्वार्थलाई अगाडि बढाएर उभिनुपर्छ भन्ने मेरो धारणा हो,’– उनले भनिन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य बनेको थिईन् । उपसभामुखमा निर्वाचित भएसँगै रास्वपाको साधरण सदस्यसमेत नरहने गरी उनले राजीनामा दिइसकेकी छन् । राजनीतिमा आउनुअघि उपसभामुख राना समाज सेवामा सक्रिय थिईन् । विशेष गरी जेलमा रहेका बालबालिकाहरुको शिक्षाको क्षेत्रमा काम गरेकी उनलाई हजारौं बालबालिकाको आमाको उपमाले समेत चिनिन्छ ।

कक्षा १० को नेपाली पाठ्यपुस्तकबाट डाक्टर सन्दुक रुइतको जीवनी हटाइएकोमा आफ्नो आपत्ति रहेको उनले बताईन् । आफ्नो संरक्षणमा रहेका बच्चाहरुले डाक्टर रुइतको जीवनीबाट प्रेरणा लिएकोसमेत उनले स्मरण गरिन् । प्रेरणादायी कथा र संघर्षबाट उदायर समाजले भगवानझैं मानेको व्यक्तिको जीवनी पाठ्यपुस्तकबाट हटाउनु देशको लागि दुर्भाग्य भएको उनको भनाई छ ।

‘अरु देशमा चाहिँ होनाहार व्यक्तिहरुको कथालाई पाठ्यक्रममा राखेर, देशमा असल नागरिक कसरी सिर्जना गर्ने भनेर उनीहरुकै देशका कथाहरु नपुगेर बाहिरबाट पनि ल्याएर बच्चाहरुलाई प्ररणा दिने कथाहरु राखेको हुन्छ । हामीले चाहिँ पार्टीगत र व्यक्तिगत स्वार्थ राखे । राज्यसत्ता फेरिनेवित्तिकै भगवानकै रुपमा प्रेरणादायी कथा र संघर्ष बोकेर आएका व्यक्तित्वहरुलाई हटाउनु भनेको देशको लागि दुर्भाग्य हो । File Photo/ Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्