Logo

नक्कली शरणार्थी प्रकरणमा घरको मान्छे होस् वा बार्दलीको, एक जना पनि छुट्न हुँदैनः गगन थापा



काठमाडौं, १० वैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई पनि छुट दिन नहुने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले उक्त प्रकरणमा दुधको दुध, पानीको पानी छानविन हुन आवश्यक रहेको बताएका हुन् ।

‘यो राज्यविरुद्धको अपराधमा संलग्न भएका एक–एक मान्छे, चाहे त्यो घरको मान्छे होस्, चाहे त्यो बार्दलीको होस्, चाहे त्यो नेता होस्, चाहे त्यो नाता होस् । सलाम गर्ने होस् वा सलामी लिने होस् एक जना पनि छुट्न हुँदैन । दुधको दुध पानीको पानी हुनुपर्छ,’– सांसद थापाले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणलाई राम्रोसँग टुङ्ग्याएको अवस्थामामात्रै जनताले सरकारको बाचाप्रति विश्वास गर्ने उनको भनाई छ । यस प्रकरणले लाज पनि लजाएको उनको टिप्पणी छ । उक्त प्रकरणमा आफ्नै अगाडि रहेका र जिम्मेवारी लिइरहेका मान्छे पनि तानिने हुन् कि भन्ने शंका लाग्न थालेको उनले बताए ।

‘नक्कली भुटानी शरणार्थी प्रकरण सरकारको अगाडि यसरी आएको छ कि, यो विषयलाई राम्रोसँग टुङ्ग्यायो भने सरकारको बाचाहरुमा विश्वास हुन्छ । अहिले जसरी नामहरु आउन थालेको छ, लाज पनि लजाएको छ । को– को परेको, को–को नपरेको सुन्दासुन्दै हामीले देखिरहेका, जिम्मेवारी लिइरहेका मान्छेहरु एकपछि अर्को मान्छे तानिँदै जाने हुन कि भन्नेजस्तो लाग्न थालेको छ,’– उनले भने ।

यस प्रकरणमा सरकारको परीक्षा सुरु भएको उनको भनाई छ । नाम आएको र छोएका जति सबैलाई निश्पक्ष रुपमा अनुसन्धानको दायरामा ल्याउन आवश्यक रहेको उनले बताए । यस प्रकरणमा अनुसन्धान नगरेर मुक्ति पाउने अवस्था नै नरहेको उनको भनाई छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारकोसँगै न्यायलयको पनि परीक्षा सुरु भएको उनले बताए । न्याय दिएकोजस्तो मात्रै नगरी न्याय पाएको अनुभूति हुने गरी काम गर्न पनि उनले न्यायलयलाई आग्रह गरे ।

‘चाहे त्यो सलाम गर्ने मान्छे होस्, चाहे त्यो सलामी लिने मान्छे होस् । जसलाई छोएको छ, जसको नाम आएको छ, त्यसको फियर अनुसन्धान हुनुपर्छ । अनुसन्धान भएन, मैले गरिन भन्ने कुराले कसैले पनि यसबाट मुक्ति पाउने अवस्था छैन ।’ उनले भने, ‘सरकरको परीक्षा पनि छ, सरकारको परीक्षा सकिएपछि अब न्यायलयको परीक्षा सुरु हुन्छ । न्यायलयले पनि यो विषयमा मैले न्याय गरेँ भनेर पुग्दैन, न्यायको अनुभूति हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्