Logo

दंगालको कार्यकाल सकिएसँगै नयाँ महालेखापरीक्षकको खोजि सुरू,को-को छन दावेदार ?



काठमाडौं,१० जेठ । महालेखापरीक्षक टंकमणि शर्मा दंगाल  महालेखापरीक्षबाट बिदा भएका छन् ।
२०७४ साल जेठ ८ गते नेपालको नयाँ महालेखापरीक्षकमा नियुक्त भएका दंगाल ६ वर्षे कार्यकाल सकिएपछि औपचारिक रुपमा हिजोबाट बिदा भएका हुन् ।

संबैधानिक निकायको रुपमा रहेको महालेखापरीक्षकको प्रमुखको रुपमा भित्रिएका दंगाल नेपाल सरकारका पूर्वसचिव हुन् । सार्वजनिक खरिद अनुगमन कार्यालय,सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सचिव भएर काम गरेको अनुभव बटुलेका दंगाल आन्तरिक राजस्व विभाग, भन्सार विभाग,र राजस्व अनुसन्धान विभागको महानिर्देशक समेत भएका थिए । महालेखापरीक्षक नियुक्त हुनेबेला उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव रहेका थिए ।

दंगाल आफ्नो कार्यकाल सकिएर बिदा भएपछि औपचारिक रुपमै नयाँ महालेखापरीक्षकको खोजी सुरु भएको छ ।

नेपालको संविधानको भाग २२ मा महालेखापरीक्षकको नियुक्ति सम्बन्धिको व्यवस्था रहेको छ ।

संबैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले महालेखापरीक्षक नियुक्त गर्ने व्यवस्था संविधानमा रहेको छ ।संबैधानिक परिषदले सिफारिस गर्नुपर्ने महालेखापरीक्षकको नियुक्ति यसपटक सत्ता गठवन्धनमा आवद्ध दलले चाहेको व्यक्ति बन्ने सम्भावना ज्यादै न्यून देखिएको छ ।

अहिलेको संबैधानिक परिषदको संरचनामा अध्यक्षसहित ६ सदस्यीय हुने व्यवस्था रहेको छ । जसमा प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष, सभामुख देवराज घिमिरे ,राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना,उपसभामुख इन्दिरा रानामगर,कायम मुकायम प्रधानन्याधीश हरिकृष्ण कार्की ,प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सदस्य रहेका छन् ।

ओली,तिमल्सिना र घिमिरे नेकपा एमाले निकटका हुन् भने उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीकी । रास्वपापनि अहिले प्रतिपक्षमै रहेको अवस्थामा सरकारले चाहेको व्यक्ति भन्दा प्रमुख प्रतिपक्षीले चाहेको व्यक्ति आगामी महालेखापरीक्षक बन्न सक्ने सम्भावना बलियो देखिएको छ ।

को को छन महालेखापरीक्षकको दौडमा ?

संबैधानिक परिषदमा प्रतिपक्षीहरुको सहज बहुमत रहेको कारण यसपटक महालेखापरीक्षकमा सबैभन्दा बलिया दावेदार हुन पूर्वसचिव शिशिर ढुंगाना । ढुंगाना अनुभवको हिसावमा हालका महालेखापरीक्षक भन्दा अझै बलिया देखिन्छन् । पूर्वअर्थ सचिव,राजस्व सचिव हुँदै गत वर्ष अवकास पाएका दंगाल यसपटक महालेखापरीक्षकको दौडमा अग्र भागमा देखिएका छन् ।

त्यसो त महालेखापरीक्षक बन्न खोज्ने ढुंगाना एक्ला उम्मेद्वार भने होईनन् । ढुंगानाका अलवा अन्य व्यक्तिहरुको पनि दाबी छ। अर्थ, राजस्वतर्फको पृष्ठभूमि रहेका र हाल बहालवाला सचिव नै रहेका बैकुण्ठ अर्याल पनि यो प्रतिस्पर्धामा देखिएका छन्।

उनी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत छन्। क्षमता र योग्यतामा अब्बल हुँदाहुँदै पनि यस्ता नियुक्ति राजनीतिक सम्बन्धमा निर्भर हुने हुँदा आगामी महालेखापरीक्षकको दौडमा ढुंगाना र अर्याल मात्रै दोखिन्छन् कि तेस्रो व्यक्तिको पनि इन्ट्री हुन्छ त्यो भने केही दिनमै स्पष्ट हुनेछ ।



प्रतिक्रिया दिनुहोस्