Logo

प्रचण्डलाई ज्ञानेन्द्र शाहीको प्रश्न, ‘प्रधानमन्त्रीज्यूको फौजदारी मुद्दा हलचल नै नहुने ?’



काठमाडौं, १० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको फौजदारी मुद्दाको सन्दर्भमा प्रश्न उठाएका छन् ।

आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संविधानमा कानुन सबैलाई बराबरी भनिएपनि ठूला र सानाका लागि छुट्टै हुने भनेर लेख्न आवश्यक रहेको टिप्पणी गरे ।

‘यो कानुन चाहिँ दूईवटा लेखौं भन्छु म । किन एउटै कानुन लेख्ने ? यी ठूलाबडालाई चाहिँ कानुननै नलाग्ने, प्रधानमन्त्रीज्यूका विरुद्धमा पनि फौजदारी मुद्दा छ, त्यो मुद्दा कही पनि हलचल नै नहुने ?’– उनले भने ।

आफूलाई सुर्खेतमा बोलेकै भरमा जेल हालेको घटनालाई स्मरण गर्दै उनले साना ठूला सबैका लागि बराबर हुने भनेर लेखिएको कानुन कार्यान्वयनमा पनि प्रभावकारी हुनुपर्नेतर्फ लक्षित गरे ।

‘सर्वसाधरण नागरिकले चाहिँ प्रहरीलाई आँखा झिम्क्याएको भरमा कुटीकुटी जेल हाल्ने । यो मेरो केसमा पनि सुर्खेतमा मलाई बोलेकै भरमा आक्रमण गरेर जेल हालियो । त्यसो हो भने कानुन सबका लागि बराबर भनेर किन लेखेको ? कानुन हामी प्रधानमन्त्री भएकाहरुका लागि अलग्गै र जनताका लागि अलग्गै भनेर लेखौं न संविधानमा । अनी जनतालाई पनि ढुक्कै हुन्छ,’– उनले भने File Photo/ Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्