Logo

‘चीनले नेपाललाई ऋणको जालमा फसाउन खोज्यो’



काठमाडौं, १० जेठ । राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले चीनले नेपाललाई ऋण जालमा फसाउन रणनीति बनाइरहेको दाबी गरेका छन्।

जनकपुरमा अभियानले आयोजना गरेको नेपालप्रति चिनियाँ अभ्यास र असर विषयक विचार गोष्ठीमा बोल्दै उनले चीनले नेपाललाई ऋण जालमा फसाई श्रीलङ्का बनाउन रणनीति बनाइरहेको दाबी गरेका हुन्।

उनले चीनले पछिल्लो समय नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको टिप्पणी गरे। उनले भने, ‘उत्तरतिरबाट नेपाली भूमि क्रमशः अतिक्रमण भइरहेको छ, चीनले देशभित्र राजनीतिक हस्तक्षेप गर्नुका साथै अघोषित नाकाबन्दीलाई निरन्तरता दिइरहेको छ।’

उनले नेपाललाई चीनले तिब्बत बनाउने षड्यन्त्र गरिरहेकोसमेत खुलासा गरे। उनले भने, ‘चीनको तिब्बतीकरण गर्ने षड्यंन्त्रको विरोधमा अब सम्पूर्ण नेपालीले एकजुट भई आवाज उठाउने बेला आएको छ।’

त्यसैगरी गोष्ठीमा साहित्यविद् सुदर्शन लाल कर्णले नेपलालाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेको आरोप लगाउँदै भने, ‘चीनले नेपाललाई श्रीलंका बनाउन खोजिरहेको छ, चीनले पोखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षडयन्त्र गरिरहेको छ।’

उनले चीनले बीआरआईमार्फत नेपाललाई ऋण जालमा पार्न विभिन्न कोणबाट कसरत गरिरहेको पनि जिकिर गरे। उनले भने, ‘चीनको विस्तारवादी नीतिलाई रोक्नुपर्छ, नेपाललाई चिनियाँ ऋणको जालमा फस्न दिनु हुँदैन।’

हाम्रो देश आर्थिक संकटमा फसेको बेला कैलाश मानसरोवर यात्रा गराउने कम्पनीसँग चीनले ८० लाख रूपैयाँ धरौटीको नाम माग्नु संकटको बेला घाँटी रेटेको साबित भएको छ। कैलाश भ्रमण गर्न आउने पर्यटकहरूलाई अनावश्यक यताना दिएर चीनले नेपालको पर्यटन व्यवसाय ध्वस्त पारी नेपालको आर्थिक समस्यामा पारी त्यसको फाइदा उठाउन खोजेको आरोप लगाएको छ।

उनले संविधानसभा सदस्य विपी यादवले चीनको विस्तारवादी नीतिलाई हामी सबै जना मिलेर नरोकेसम्म नेपालको विकास सम्भव नहुने जिकिर गरे।

उनले भने, ‘कहिले चीनका लागि नेपाली राजदूतको ओहोदा प्रमाणपत्र नबुझिदिने त कहिले काठमाडौंमा रहेको चिनियाँ दूतावासमार्फत चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न लगायतको काम गरिरहेको छ।’

हिन्दी अभियन्ता रमन पाण्डेयले सनातन संस्कृति नेपालको आत्मा भएको बताएका छन्। उनले भने, ‘समाजमा चली रहेको जातीय द्वन्दलाई समाधान गर्न राष्ट्रीय एकताको सूत्र हिन्दू संस्कृति नै हो त्यसकारण देशलाई संघीय हिन्दू गणतन्त्र कायम गरी अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको छ।’

कार्यक्रममा धार्मिक अभियन्ता भोगेन्द्र लाल कर्ण, मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरी, डा. बीरेन्द्र कुमार, प्राध्यापक बालकेश्वर ठाकुर, धार्मिक अभियन्ता भोगेन्द्र लाल कर्ण, वन्दना पाण्डेयलगायतले चीनले नेपाललाई ऋण जालमा फसाई श्रीलंका बनाउन खोजिरहेको भन्दै सतर्क हुन जोड दिए।



प्रतिक्रिया दिनुहोस्