काठमाडौं,११ जेठ । नेकपा एमालेका उपमहासचिव एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका पूर्वराजनीतिक सल्हाकार विष्णु रिमाल र धरान उपमहानगपालिकाका मेयर हर्कराज राईबीचको सामाजिक सञ्जालको घोचपेच अन्तय हुने अवस्थामा आइपुगेको छ ।
रिमालले आफुले दिएको अभिव्यक्तिप्रति आफ्नो गल्ती भएको स्वीकार गरेसँगै रिमाल र राईबीचको आरोप-प्रत्यारोप मत्थर हुने देखिएको हो।
गत शनिबार अखिल नेपाल महिला संघको बैठकमा दिएको एक अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचनाको शिकार भएका रिमालले हर्क साम्पाङ र बालेन साहप्रति बैरभाव राख्नुपर्ने कुनै कारण नभएको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत रिमालले यस्तो बताएका हुन् ।
गत शनिबारको आफ्नो अभिव्यक्तिका कारण निक्कै आलोचित भएका रिमालले आफ्नो गल्ति स्वीकारेका छन् । र सबैसँग मिलेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यस्तो छ उनले सामाजिक सञ्जालमा लेखेकोे स्ट्याटस
आन्तरिक कार्यक्रम र बाहिरी चर्चा !
अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको बैठकमा मैले सामाजिक सञ्जाल बारे बोलेको भिडियो बाहिर आयो । केन्द्रीय कमिटीको त्यो बैठक सार्वजनिक थिएन । छलफलको प्रयोजन गोप्य थियो, विषय रणनीतिक थियो । आन्तरिक भएकोले यस्ता बैठकहरुमा प्रायस् अनौपचारिक भाषा बोलिन्छ । अनौपचारिक भाषा बोल्दा शब्द तौलिएर बोलिंदैन । त्यहाँ पनि त्यस्तै भएको थियो, सबै चिनेजानेकाहरु बीच मैले बोल्दा कुनै साबधानी अपनाईन । आफ्नालाई सकेसम्म उत्साहित पार्ने र पार्टीले राखेको लक्षतिर प्रतिवद्ध बनाउने प्रयास गरें । यो डिजिटल युगमा गोप्य, गोप्य रहँदो रहेनछ– कुनै न कुनै तरीकाले ओपन हुँदो रहेछ । हो, यहाँ चाँहि मेरो असावधानी हुनपुग्यो ।
हामी छर–छिमेकमा, दाजुभाइका बीचमा कुरा गर्दा दाइ सा“प, काका सा‘प भन्दैनौं । लोकल स्ल्याङ्गमा– कालेदाइ, सेतेदाइजस्ता शब्दहरु पनि प्रयोग हुन्छन् । त्यस्तै, त्यो बन्द–बैठकमा कुरा राख्दा अनौपचारिक तबरबाट प्रयोग भएको शब्दरवाक्यरवाक्याँश सार्वजनिक हुँदा सायद अशोभनीय सुनियो । अमर्यादित जस्तो लाग्न पुग्यो ।
‘भाइरल–भिडियो’को मेरो अभिव्यक्तिलाई यसरी बुझिदिनु होला ।
हर्क साम्पाङ र बालेन साह जस्ता साथीहरु स्थानीय सरकारको नेतृत्वमा आउनु भएको छ । केही गर्छु भन्ने युवाहरु, चाहे मेरा पार्टीका हुन् वा स्वतन्त्र, उहाँहरुप्रति वैरभाव राख्नुपर्ने कारण नै छैन । नजिकबाट मलाई चिन्ने जो कोहीलाई थाह छ– फ्रण्टलाईन, प्रचार, वाहवाही भन्दा पर हदैसम्म काममा जोतिन चाहने मान्छे हुँ । त्यसैले म अहिले पनि भन्छु, यो देश बनाउन काममा निर्लिप्त भएर लाग्नै पर्छ, एकप्रकारले भन्ने हो भने हामी “बहुलाउनै” पर्छ ।
हर्कजी दिनरात जनतालाई श्रममा लगाइ पानी खुवाउने भनेर लाग्नु भएको छ । सामाजिक सञ्जालबाट श्रमदान गर्न आउन भन्नु भएको रहेछ । म श्रमिक आन्दोलनबाट नै राजनीतिमा आएको मानिस हुँ । मेरो जीवनको उर्जाशील ३० वर्ष श्रमिकहरुको हकहित र सुरक्षाका काममा वितेको छ । म पूर्व आउँदा धरानमा पनि आउन सक्छु, मौका मिले त्यहाँ पनि श्रम गरौंला । मौका नमिले पनि म श्रमबाट टाढा छैन । file photo