Logo

सहकारीको रकम हिनामिना गरेर फरार भएका मेयर एमालेबाट निलम्बित



काठमाडौं,११ जेठ । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली नेकपा एमालेबाट निलम्बित भएका छन् ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले जम्मा गरेको करोडौं रकम हिनामिना गरेर फरार भएको समचार बाहिरिएपछि उनलाई एमाले गण्डकी प्रदेश कमिटीको हिजो बसेको बैठकले निलम्बन गरेको हो ।

एमाले गण्डकी प्रदेश कमिटी सचीव धनञ्जय दवाडीले एक विज्ञप्त्ति जारी गर्दै उनी निलम्बित भएको जनाएका छन् ,

‘‘यस घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरुलाई वचतकर्ताको सम्पूर्ण रकम शीघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पु¥याउन हाम्रो पार्टी संवद्ध सबैलाई आग्रह गर्दछ’विज्ञप्तिमा भनिएको छ ।

उनीसहित इमेज सहकारीका पदाधिकारी वचतकर्ताको रकम फिर्ता नगरेर हाल फरार रहेका छन् । गृह मन्त्रालयले संस्थापक अध्यक्ष नेपाली, कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाहीको यात्रा अनुमति रद्दसमेत गरेको छ ।

२०७९ को वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट ५ हजार ७ सय ३५ मतसहित निर्वाचित भएका नेपाली एमाले गण्डकी प्रदेश कमिटी सदस्यसमेत हुन् ।



प्रतिक्रिया दिनुहोस्