काठमाडौं, ११ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् । टीकापुर घटनामा संलग्न रहेको आरोपमा उनलाई जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय तोकेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत र सर्वोच्च अदालतमासमेत पुनरावेदन गएका रेशमको दुवै अदालतबाट जन्मकैद सदर भएको थियो ।
उनी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी छ । चौधरीको सजाय माफीका लागि फाइल अगाडि बढाइएको छ । उनको सजाय माफीका लागि उनीसँग सम्बन्धित २० वटा फाईल हिजो (बुधबार) राष्ट्रपतिको कार्यालयमा पठाइएको हो ।