काठमाडौं, १३ जेठ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्द बहादुर सिंह र पदाधिकारीहरूले बागेश्वरी बहुमुखी क्याम्पस बाँकेको अनुगमन तथा अन्तरक्रिया भ्रमण गरेका छन्।
बिहीबार क्याम्पसद्वारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि तथा उपकुलपति सिंह रहेका थिएभने कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख उपप्राध्यापक दान बहादुर हमालले गरेको थिए।
सोही कार्यक्रममा उपकुलपति सिंहले क्याम्पसको नवनिर्मित समुद्घाटन र निर्माण हुन लागेको ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्ट भवनको शिलान्यस गरेको क्याम्पसले जनाएको छ।
अन्तरक्रिया कार्यक्रममा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीले आ-आफ्ना समस्या तथा गुनासाहरू राखेका थिए। क्याम्पस पदाधिकारी तथा उपस्थित अतिथिहरूले सूचना प्रविधिलगायत विभिन्न प्राविधिक विषयहरू पढाउन अनुमति दिनुपर्ने कुरा व्यक्त गरेका थिए।
उपकुलपति सिंहले प्राध्यापक, कर्मचारी तथा विद्यार्थीले राखेका गुनासा तथा समस्याहरूको सम्बोधन गरेका थिए। उनले मागहरू क्याम्पस प्रशासनतह बाटै सामाधान गर्न सकिने र अन्य मागहरू विश्वविद्यालय प्रशासनबाट यथोचित सम्बोधन हुने बताएका थिए।
साथै उपकुलपति सिंहले क्याम्पसलाई प्राविधिक विषय पढाउनका लागि अनुमति दिन तयार रहेको र सोको लागि क्याम्पस भौतिक संरचना तथा जनशक्तिको उचित प्रबन्ध र तयारी गर्नुपर्ने बताए।
अन्तरक्रिया कार्यक्रम पश्चात उपकुलपति सिंहको टोलीले क्याम्पस भवन, लाइब्रेरी, कक्षाकोठा, खेल मैदान, शौचालयलगायत समग्र क्याम्पसको अवस्थाबारे अनुगमन गरेको क्याम्पसले जनाएका थिए।