Logo

सांसदको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने शीर्ष नेतृत्वको सहमतिप्रति शेखरको असन्तुष्टि



काठमाडौं,१४ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउने शीर्ष तीन दलका नेताहरुको सहमतिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
आज सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै कोइरालाले संसद्मा सांसदले व्यक्त गरेका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका छन् ।

शीर्ष नेताले त्यस्तो अभिव्यक्ति हटाउन सहमति गर्ने र संसद् सचिवालयले सोहीअनुसार कार्य गर्दैमा विगतका अनिमियतता धेरै दिन ढाक्न नसकिने उनको भनाइ छ ।

उनले लेखेका छन्

कस्तो विडम्बना!
संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियता सम्बन्धी विषय उठाउने, दलका शिर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरुप कार्य गर्ने ।

सांसदका हरेक अभिव्यक्ति तार्किक निश्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिंदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र ?

हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौं । के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो ?

संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा संचार जगत पनि छन भन्ने कुरा बुझौं ।



प्रतिक्रिया दिनुहोस्

Screenshot