Logo

राष्ट्रियसभा आवश्यक नभए खारेज गर्न कांग्रेस सांसद पन्थको माग



काठमाडौं,१४ जेठ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले राष्ट्रियसभाको गरिमा कायम हुन नसकेको गुनासो गरेका छन् ।

उनले राष्ट्रियसभा उपेक्षामा परेको भन्दै दुखेसो पोखे । आइतबार संघीय संसद्को संयुक्त बैठकमा बोल्दै उनले राष्ट्रियसभालाई परिपक्व र स्थायी प्रकृतिको सभा भनिएपनि नेतृत्वबाट सधै उपेक्षामा परेको बताए ।

“यो राष्ट्रियसभा ठिक छ चाहिन्छ आवश्यकता छ भने यसलाई राख्ने हो,” उनले थपे, “चाहिँदैन आवश्यकता छैन भन्ने केही नेताहरूलाई लाग्छ भने यसलाई बन्द गरिदिए हुन्छ खारेज गरिदिए हुन्छ ।”

“परिपक्व र स्थायी सभा भनेर राष्ट्रियसभालाई हामी भन्ने गरेका छौँ । भाषणमा त्यसो भने पनि व्यवहारमा राष्ट्रियसभाले आफूलाई उपेक्षा गरेको महसुस भएको छ । प्रतिनिधिसभा नहुँदा कुनै बेला सिंहदरबारको एउटा हलबाट नीति कार्यक्रम बजेटहरू प्रस्तुत भयो राष्ट्रियसभा हुँदाहुँदै । त्यहाँबाट राष्ट्रियसभा झस्किएको छ,” पन्थले भने, “यसको औचित्य र आवश्यकताको विषय त्यतिबेलै उठिसकेको छ । राष्ट्रियसभा हुँदाहुँदै सरकारले कतिपय कुराहरू बाहिरबाहिरबाटै गर्दा यसको औचित्यमाथि प्रश्न उठेको छ ।”



प्रतिक्रिया दिनुहोस्