Logo

सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सरकारको स्पष्ट नीति आवश्यक छ : सांसद पौडेल



काठमाडौं,१५ जेठ । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सार्वजनिक सम्पत्तिको दुरुपयोग हुन नदिन सरकारले स्पष्ट नीति ल्याउनुपर्ने बताएका छन् ।

१६औं गणतन्त्र दिवसको अवसरमा बामपन्थी नेता निर्मला लामाको सम्झनामा काठमाडौंमा आयोजित वृक्षारोपन कार्यक्रममा सहभागी भएका पौडेलले सार्वजनिक जग्गा नेताका आफन्तलाई दिन नहुने बताएका हुन् ।

उनले भने,‘नेपालभर सार्वजनिक जग्गा कहाँ कहाँ छ, पहिला सरकारले पहिल्याउनुपर्छ। कहाँ छ र कसरी संरक्षण गर्ने भन्नेबारेमा सरकारले स्पष्ट नीति ल्याउनुपर्छ। स्थानीय सरकारसँगको समन्वयमा छ। मैले यसको पैरवी गर्ने र लागिपर्ने प्रतिवद्धता व्यक्त गर्छु। काठमाडौं क्षेत्र नम्बर ५ मा सार्वजनिक जग्गा कहाँ छ खोज्छौँ, र त्यहाँ वृक्षरोपण गर्ने प्रतिवद्धता व्यक्त गर्छौं। वृक्षरोपण गरेर सार्वजनिक जग्गा जोगाउनेछौं। काठमाडौंको महंगो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिलाई अन्त्य गर्नेछौँ र नागरिकको हितको लागि प्रयोग गर्नेछौँ। यो जग्गाको सन्दर्भ जहाँसम्म छ, निर्मल लामा सम्मानित व्यक्ति हुनुहुन्छ। उहाँलाई सम्मान गर्न उहाँको नाममा प्रतिष्ठान बनाएर व्यापारिक केन्द्र बनाउन दिन सकिँदैन।’

केही मानिसको स्वार्थ पुरा थर्न निर्मल लामाको नाम बदनाम गरिएको उल्लेख गर्दै पौडेलले भने ‘केही मानिसको स्वार्थ पूरा गर्न उहाँको सम्मानित नाम बद्नाम गर्न पाइँदैन। राज्यले लगानी गरी पार्क बनाई यसको नाम निर्मल लामा पार्क राख्छ भने आपत्ति भएन। तर यहाँ प्रतिष्ठान बनाएर सटर बनाई केही मानिसले लाभ लिने र ४० वर्षसम्म लिजमा दिने कुरा किमार्थ स्वीकार हुँदैन। गणतन्त्र दिवसको दिन वृक्षरोपण गरेर हामीले यसको रक्षा गरेका छौँ’, उनले भने, ‘हामी सरकारलाई भन्न चाहन्छौँ, यो हाम्रो हितको लागि प्रयोग गरियोस्, यहाँका नागरिकको हितको लागि प्रयोग गरियोस्, नजिकका मानिसको स्वार्थ पूरा गर्नका लागि प्रयोग गरियो भने हामी बाधक भएर आउनेछौं। स्वार्थ पूरा हुन दिँदैनौं।’ file photo



प्रतिक्रिया दिनुहोस्