Logo

पाँच लाखभन्दा बढि सन्तानले वंशजको आधारमा नागरिकता पाउँदै



काठमाडौं, १७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पहिले पटक रायसहित फिर्ता गरेको र दोस्रो पटक अस्वीकृत गरेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले जारी प्रमाणीकरण गरेको विधेयक राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ । विधेक कार्यान्वयनमा आएपछि जन्मको आधारमा नागरिकता प्राप्त गरेका बाबुआमाको सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्नेछन् । कानुन नभएका कारण जन्मका आधारमा नागरिकता लिएका बाबुआमाका पाँच लाखभन्दा बढि सन्तान नागरिकता लिनबाट बञ्चित थिए ।

साथै, नेपालभित्र फेला परेका र पितृत्व र मात्रित्वको ठेगान नभएकाहरुले नीजका पितृत्व र मातृत्व पत्ता नलागेसम्म वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने बाटो खुलेको छ । नेपाली नागरिक आमाबाट जन्म भएको र बाबुको ठेगान नभएकाहरुले वंशजको आधारमा नागरिकता लिने बाटो पनि खुलेको छ ।

नागरिकता विहीन संघर्षसमितिले तत्काल नागरिकता विधेयक प्रमाणीकरणका लागि दवाव दिँदै आएको थियो । संघर्ष समितिका अध्यक्ष ईन्द्रजीत साफीले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा जन्मको आधारमा नागरिकता पाएका बाबुआमाका करिव ११ लाख सन्तालन नागरिकताबाट बञ्चित भएको बताउँदै आएका थिए ।

सरकारका विभिन्न तथ्याङ्क र अनुुसन्धानले भने कानुन अभावका कारण जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका पाँच लाखभन्दा बढि सन्तानले नागरिकता नपाएको बताएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्