काठमाडौं,१७ जेठ । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउँदै जनता समाजवादी पार्टी नेपालले नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
प्रदेशसभामा एक सिट रहेको जसपा सरकारबाट बाहिरिने निर्णय गरेसँगै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारको काउन्टडाउन सुरु भएको छ ।
कुनैपनि दलको स्पष्ट बहुमत नरहेको कारण गत पुस २४ गते नेकपा माओवादी केन्द्र,जसपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की जसपाले समर्थन फिर्ता लिने निर्णय गरेसँगै संवैधानिक संकटमा परेका छन् ।
नेपालको संविधानको धारा १६८ मा प्रदेश सरकारमा सहभागी भएका कुनै दलले समर्थन फिर्ता लिएमा १ महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।
जसपाले समर्थन फिर्तालिँदैमा अल्पमतमा नरहेका मुख्यमन्त्री कार्कीको सरकार त्यतिबेला धरापमा पर्छ जब माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्नेछ !
९३ सदस्यीय प्रदेशसभामा सबैभन्दा ठुलो दल नेकपा एमालेको ४० नेपाली कांग्रेसको २९,माआवादी केन्द्रको १३,राप्रपाको ६, नेकपा एसको ४ र जसपाका एक सांसद रहेका छन् ।
प्रदेशमा सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक पर्दछ । केन्द्रमा माओवादी र कांग्रेससहितको सत्ता गठवन्धन रहेको छ तर प्रदेश सरकारमा भने एमालेसँग गठवन्धन गरेको माओवादी केन्द्रलाई नेपाली कांग्रेसले निरन्तर सरकारबाट बाहिरिन दवाव दिइरहेको छ ।
जसपाको यस निर्णयसँगै कांग्रेसले माओवादीमाथि थप दवाव बढाउने निश्चित रहेको छ । माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिएको घोषणा गरेमा कार्की नेतृत्वको सरकार अलपमतमा पर्नेछ ।
अल्पमतमा रहेको अवस्थामा विश्वासको मत लिँदा कार्कीलाई एमाले र राप्रपाले मात्रै मत दिनेछन् एमाले र राप्रपाको मात्रै ४६ मत हुन्छ यो भनेको बहुमत पुर्याउन एक सांसद कम हो ।
उता विपक्षीमा पनि माओवादी कांग्रेस, नेकपा एस र जसपासहित ४७ (एक सभामुखसहित) सांसद रहेका छन् । तर सभामुखले निर्णयक अवस्थामा मात्रै मत दिन पाउने संवैधानिक व्यवस्था रहेको कारण तत्काल विपक्षीले चाहे जस्तो विपक्षीको नेतृत्वको सरकारक बन्ने सम्भावना पनि कमै देखिन्छ ।
जसरी पनि एमाले नेतृत्वको सरकार ढाल्ने लक्ष्यसहित मैदान उत्रिएको कांग्रेस भने सभामुखलाई राजिनामा गराएर वा राप्रपालाई मुख्यमन्त्री दिएरै भएपनि सरकार ढाल्ने योजनामा रहेको छ ।
कोशी प्रदेशमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम सभामुख रहेका छन् भने एमालेकी सिर्जना दनुवार उपसभामुख छिन् ।
कांग्रेस र माओवादीले चाहँदैमा राजिनामा नदिने बताउँदै आएमा गौतमले राजिनामा दिएर मार्ग प्रसस्थ गरेभने प्रदेश सभाको बैठक उपसभामुखले सञ्चालन गर्नुपर्ने हुन्छ उपसभामुखले पनि राजिनामा दिएमा बैठकका सञ्चालन प्रदेशसभाका जेष्ठ सदस्यले गर्ने व्यवस्था रहेको छ । सभामुख गौतमले राजिनामा दिएमा उपसभामुख दनुवारले पनि राजिनामा दिने निश्चित रहेको छ ।
प्रदेशसभामा हाल नेपाली कांग्रेसका सांसद गयानन्द मण्डल जेष्ठ सदस्यको रुपमा रहेका छन् । सभामुख र उपसभामुख दुबैको राजिनामा आएमा उनै मण्डलले बैठक सञ्चालन गर्नुपर्नेछ । राप्रपाले मन र सत्ता समिकरण नबदल्दासम्म कांग्रेस र माओवादी केन्द्रले जतिसुकै कोशिस गरेपनि कार्की नेतृत्वको सरकार ढाल्लभने त्यती सहज देखिँदैन ।
अन्य प्रदेशमा भन्दा भिन्न समिकरण र परिस्थिती रहेको हुँदा हिक्मतकुमार कार्की नेतृत्वको सरकारको आयू अब राप्रपाको हातमा देखिन्छ ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएको खण्डमा पनि राप्रपाले दरिलो साथ दिएमा विश्वासको मत लिने दिन अन्य दलका एक सांसदलाई फ्लोर क्रस गराएरै भएपनि विश्वासको मत हाँसिल गर्ने एमालेको योजना रहेको छ ।
फरक-फरक बिचार र सिद्धान्त बोकेका दल भएपनि एमाले र राप्रपा अहिले एउटै कित्तामा छन् । दुबै पार्टीका अध्यक्ष एउटै जिल्लाका भएको र चुनावमा गठवन्धन गरेर प्रतिस्पर्धामा होमिएका कारण राप्रपाले एमाले नेतृत्वको प्रदेश सरकार तत्काल नछाड्ने बुझाइमा छन् एमालेका नेताहरु ।
वर्तमान प्रदेशको समिकरण र दलहरुको तछाडमछाड हेर्दा एमाले नेतृत्वको प्रदेश सरकार राप्रपाकै हातमा रहेको देखिन्छ ।