Logo

प्रमाणिकरणसँगै नागरिकताको समस्या सधैंका लागि अन्त्य होस् : अध्यक्ष यादव



सप्तरी (राजविराज), १७ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुनेमा विश्वास व्यक्त गरेका छन्।

बुधवार सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ्ग कलेज भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नागरिकता विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई विषेश धन्यवाद समेत दिएका छन्।

‘मुलुकबाट नागरिकता सम्बन्धि समस्या सदाका हल होस्, नागरिकता पाउनकै लागि नागरिकलाई लड्नुपर्ने बिषय दुरभाग्यपूर्ण हो’ उनले भने, ‘यस्तो मुलुक संसारमा कतै छैन्, अन्य मुलुकमा त अन्य देशका नागरिकलाई पनि बोलाइ–बोलाइ नागरिकता दिन्छन् तर यहाँ त नागरिकलाई आफ्नै देशमा गैरनागरिक भएर बस्नु परेको छ।’

उनले विगतमा पनि लामो सघर्षपछि मात्रै यहाँका नागरिकले नागरिकता र नागरिकता विधेयकमा पनि ठुलो नै सघर्ष गर्नु परेको बताए। ‘मधेशमा देखिएका नागरिकता सम्बन्धि समस्या समाधानका निम्ति हामीले सडकदेखि सद्नसम्म लामो समय सघर्ष गर्दा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा ९ लाख नागरिकलाई नागरिकता दिलायौं’ उनले भने, ‘तर पनि थुप्रै नागरिकका सन्तानहरु गैरनागरिक नै छन्, त्यसका लागि पनि ठुलै सघर्ष गर्नुपर्यो। संसदबाट दुई–दुई पटक पास भएको विधेयक राष्ट्रपतिकोमा गएर अड्किरह्यो।’

अहिले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा अब नागरिकता सम्बन्धि सबै समस्या समाधान हुनेमा आशावादी भएको अध्यक्ष यादवले बताए।

छ करोड ९२ लाखको नर्सिङ्ग भवन उद्घाटन

अघिल्लो कार्यकालमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका अध्यक्ष यादवको संसदीय कोषको बजेटबाट निर्माण भएको नसिंङ्ग भवन उद्घाटन गरिएको छ।

कुल ६ करोड ९२ लाख रुपैयाँको लागतमा निर्माण भएको दुई तले भवनको अध्यक्ष यादवले उद्घाटन गरेका हुन्।

गजेन्द्र नारायण सिंह अस्पतालको परिसरमा निर्माण भएको उक्त भवनमा आगामी वर्षदेखि नर्सिङ्गको कक्षा सञ्चालन गर्ने तयारी छ।



प्रतिक्रिया दिनुहोस्