Logo

नेपालको भूभाग समेटिएको भारतको नक्साविरुद्ध बागमती प्रदेशको संकल्प प्रस्ताव पारित



काठमाडौं,१७ जेठ । बागमती प्रदेशसभाले नेपालको भूमि समेटेर भारतले आफ्नो देशको संसद भवनमा नक्सा राखेको विषयमा विरोध गर्दै संकल्प प्रस्ताव पारित गरेको छ ।

आज बसेको प्रदेशसभाको बैठकमा नेकपा एमालेका सांसद तथा प्रमुख सचेतक मधुसुधन पौडेलले पेस गरेको संकल्प प्रस्ताब सर्वसम्मतिले स्वीकृत गरेको हो ।

भारतले नेपालको लुम्बिनी कपिलवस्तु लगायतका नेपालका भूभाग समेटेर आफ्नो संसद् भवनमा नक्सा राखेकोमा प्रदेशसभाको ध्यानाकर्षण भएको र उक्त नक्सा सच्याउन कूटनीतिक रुपमा नेपाल सरकारले पहल गर्नुपर्ने भन्दै पौडेलले संकल्प प्रस्ताव पेश गरेका थिए ।

प्रमुख सचेतक पौडेलले प्रदेशसभा नियमावली २०७४ को परिच्छेद १३ बमोजिम संकल्प प्रस्ताव पेश गरेका थिए । उनले पेश गरेको संकल्प प्रस्तावलाई प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले निर्णायार्थ पेश गरेका थिए ।

संंकल्प प्रस्ताव पेश गर्नका लागि प्रदेशसभा नियमावलीको नियम निलम्बन गरिएको थियो । सत्तारुढ दल नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभा नियमावली २०७४ को नियम २११ को उपनियम १ बमोजिम नियम निलम्बन गरेका थिए ।

पौडेलले प्रस्ताव गरेको संकल्प प्रस्तावलाई नेपाली कांग्रेसका सचेतक कुन्दनराज काफ्ले,माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकाल,राप्रपाकी सचेतक कुमारी तामाङ,नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले समर्थन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्