Logo

नागरिकता अध्ययन कार्यदलका संयोजक भण्डारी भन्छन्, ‘राष्ट्रपति पौडेलले गम्भीर राष्ट्रघात गरे’



काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा अस्वीकृत भएको उक्त नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रपति पौडेलको चौतर्फी आलोचना सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको पूर्व सन्ध्यामा राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुलाई विशेष रुपमासमेत हेरिएको छ । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलको उक्त कदमलाई लिएर नागरिकता अध्ययन कार्यदलले घोर आपत्ति जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गर्दै नागरिकता ध्ययन कार्यदलले प्रधानमन्त्री र राष्ट्रपति पौडेलको उक्त कदमविरुद्ध सर्वोच्चको ढोका ढक्ढक्याउने चेतावनी दिएका छन् । साथै, उनीहरुले नागरिकता विधेयकको विरुद्ध कडा आन्दोलन छेड्ने चेतावनीसमेत दिएका छन् ।

‘प्रधानमन्त्रीले मन्त्रीपरिषद्बाट निर्णय गरी निर्वतमान राष्ट्रपतिबाट प्रमाणीकरण नगरी स्वत निस्कृय हुन पुगेको नागरीकता विधेयक वर्तमान संसद्बाट निवाचित राष्ट्रपति र संसद् चलिरहेको अवस्थामा निश्कृय भएको विधेयक प्रमाणीकरण गरेकोले यो गम्भीर राष्ट्रघातविरुद्ध सम्पूर्ण देशभक्त नेपाली जनतालाई सघर्षमा आउन अपिल गर्दछौं,’– नागरिकता अध्ययन कार्यदलका संयोजक साध्यबहादुर भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक भण्डारीले देश आजैबाट फिजीकरणको बाटोमा लागेको टिप्पणी गरे । ‘देश आजैदेखि फिजी भयो । महेन्द्र चौधरीहरु तयार भएर बसे दिल्लीमा । आजैदेखि हामी अल्पमतको प्रक्रियामा गयौं,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्