Logo

आँखा सन्काएको भरमा रोकिएको विधेयक प्रमाणीकरण हुनु ठीक छः रामनारायण बिडारी



काठमाडौं, १९ जेठ । वरिष्ठ अधिवक्ता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक संविधानसम्मत रहेको बताएका छन् ।
आज (शुक्रबार) नेपाल ल क्याम्पस स्ववियुले भर्खरै प्रमाणीकरण भएको नागरिकता विधेयक उपर छलफल तथा अन्तरक्रियाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पहिलो संसद्ले पास गरेको विधेयक निष्कृय नहुने बताएका हुन् ।

साथै, तत्कालीन प्रधानमन्त्रीले केपी शर्मा ओलीले आँखा झिम्क्याएको भरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको उनको आरोप छ । पूर्व राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर सिंगो संसद्को अपमान गरेको उनले बताए । संसद् र मन्त्रिपरिषद्ले गरेको निर्णय मन लागे प्रमाणीकरण गर्ने र मन नलाग्दा नगर्ने प्रवृत्ति राष्ट्रपतिमा देखिए त्यो प्रवृत्ति महाराज विरेन्द्रको भन्दा कम नहुने उनको भनाई छ । पूर्वराष्ट्रपति भण्डारीको व्यहारले यो देशको कार्यकारी राष्ट्रपति हो कि भन्ने भान भएको उनले बताए । अविच्छिन्न उत्राधिरकार सिद्धान्तको आधारमा राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेको उनको दाबी छ ।

‘राष्ट्रपतिले संसद्ले पास गरेको कुरो पनि नगर्दिने, मन्त्रिपरिषद्ले पास गरेको कुरा पनि नगर्दिने । उनलाई मन लागे गर्ने, मन नलागे नगर्ने भनेपछि महाराज विरेन्द्र भन्दा कम भयो त ?’– बिडारीले भने ।

पूर्वराष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेको विधेयक निष्कृय हुन्छ भनेर पूर्व संविधान सभा सदस्य सुवास नेम्वाङले बेइमानीपूर्ण अभिव्यक्ति दिएको उनको भनाई छ ।

‘उहाँले प्रमाणीकरण गर्नु भएन भने विधेयक निष्कृय हुन्छ भनियो । सुवास नेम्वाङजस्तो मान्छे, जो संविधान सभाको अध्यक्ष । उहाँले पनि त्यसै भन्नुभयो । यो जम्मै बेइमानी कुरा हो । यदि त्यसरी निष्कृय हुन्छ भने यो देशको संविधान आजीवन निष्कृय हुन्छ । संसद्ले पास गरेर पठाउँछ, राष्ट्रपतिले खल्तिमा हालेर बस्छ । प्रमाणीकरण पनि गर्दैन, गर्दिन पनि भन्दैन । त्यो त निष्कृय भयो । फेरि अर्को पास गर्यो त्यो पनि निष्कृय हुन्छ । त्यो पनि गर्दिदैन । यस्तो परम्परा बसाल्न खोजेको हो ?’– उनले प्रश्न गरे ।

 



प्रतिक्रिया दिनुहोस्