Logo

सरकारको मुख्य प्राथमिकता सुशासन, समृद्धि र सामाजिक न्याय होः गृहमन्त्री श्रेष्ठ



काठमाडौं, २० जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली समाजको आवश्यकता र जनताको अपेक्षा पुरा गर्ने स्तरको विकास र समृद्धि दिन नसक्दा जनतामा निराशा र वितृष्णा पैदा भएको बताएका छन् । आज (शनिबार) काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिहरुको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले जनताका अपेक्षा बुझेर सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा काम गरिरहेको बताएका हुन् ।

‘नेपाली समाजको आजको आवश्यकतालाई सम्बोधन गर्ने स्तरको र नेपाली जनताको अपेक्षा पुरा गर्ने स्तरको विकास र समृद्धि हामीले दिन सकेनौं । त्यसकारण जनतामा एक प्रकारको निराशा र वितृष्णा पैदा हुँदै गएको छ ।’ उनले भने, ‘आजको एकशुत्रीय काम भनेर हाम्रो सरकारले घोषणा गरेको छ, सुशासन, समृद्धि र सामाजिक न्याय । यसबाट विचलित हुन कुनै पनि हालतमा सकिन्न । यो हाम्रो संकल्प हो, यो हाम्रो प्रतिवद्धता हो ।’

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण नगरी सुशासन कायम हुन नसक्ने र सुशासन कायम नभई समृद्ध देश नबन्ने उनको भनाई छ । भ्रष्टाचारको नियन्त्रण नगरी समृद्ध राष्ट्र बनाउने कुरा कोरा कल्पनामात्रै भएको उनको भनाई छ ।

आफूले मन्त्रालयमा आएदेखि सशुसान र पारदर्शिताको पक्षमा काम गरिरहेको उनले दाबी गरे । सुराकी खर्च खारेजीको प्रसंग स्मरण गराउँदै उनले भने,–‘पञ्चायत कालदेखि रहिआएको सुराकी खर्च वापत गृहमन्त्री र सचिवले गर्ने लाखौं खर्च मैले पहिलो दिननै खारेज गरिदिएँ ।’

File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot