Logo

शरणार्थी प्रकरणमा बोले गृहमन्त्री, माओवादीकै मान्छे परेपनि आश्चर्य नमान्न आग्रह



काठमाडौं, २० जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष रुपमा छानविन भइरहेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिहरुको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको नियन्त्रण नभई समृद्धि र सामाजिक न्याय कामय हुन नसक्ने भएकाले सरकार त्यसमा केन्द्रीत रहेको बताएका हुन् । भ्रष्टाचारी कुन पार्टी र कसको मान्छे भन्नेमा आफूहरुले कुनै प्रवाह नगरी स्वतन्त्र रुपमा छानविन भइरहेको उनको भनाई छ । आज अरु पार्टीका मान्छे नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेको उल्लेख गर्दै उनले भोलिका दिनमा माओवादीका मान्छे पक्राउ परेको खण्डमा पनि आश्चर्य नमान्न आग्रह गरे ।

‘आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर सम्पत्ति आर्जन गर्नका निम्ति अर्काको देशको शरणार्थी बनाएर योजना थियो । त्यसको अनुसन्धन स्वतन्त्र र निष्पक्षरुपमा गरी दोषीमाथि कारबाही होस् भनेर गृहमन्त्रालयमार्फत नेपाल प्रहरीले न्यायलयमा पेश गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । हामी आशा गर्छौं । पीडितहरुलाई न्याय दिने हाम्रो अनुसन्धान खेर जानेछैन ।’ उनले भने, ‘राज्यका अरु अंगहरुले पनि यसमाथि सकारात्क निर्णय गर्नेछ भन्ने आशा गर्नैपर्ने छ । सुशासनको स्थापना गर्दा कुन पार्टीको को पर्छ मलाई थाहा छैन । आज अरु पार्टीको परे होला, भोलि मेरै माओवादी पार्टीको भ्रष्टाचारी काण्डमा परे भनेपनि आश्चर्य नमान्नु होला । त्यो छोडिने छैन । नयाँ ढंगले हामी काम गर्न खोज्दैछौ । सबैको सहयोग पनि चाहिएको छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot