काठमाडौं,२१ जेठ । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति क्षमा माग्दै संसद्मा माफी नमागेसम्म सदन चल्न नदिने चेतावनी दिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भारतमा गएर राष्ट्रहित विपरीतको अभिव्यक्ति दिएको भन्दै गम्भिर आपत्ति जनाएका छन् ।
‘फुलबारी रुट प्राप्त गर्नका निम्ति नेपालको पश्चिमको कालापानी, लिम्पियाधुरा, लिपुलेक दिन पनि तयार छौँ भन्ने कुराले सिंगो राष्ट्रको शीर निहुरिएको छ । अपमान वोध भएको छ,’ प्रमुख सचेतक गिरीले भने ।
उनले प्रधानमन्त्रीबाट यस्ता कुरा आउनु दुःखद् भएको भन्दै त्रुटी सच्याउनुपर्ने बताए । “यो सदनका अघि आएर उहाँले माफी माग्नुपर्छ । नभएसम्म हामी अघि बढ्न सक्ने अवस्था रहँदैन,” गिरीले भने ।
एमालेको अडानप्रति अन्य प्रतिपक्ष दालहरु राप्रपा र रास्वपालेसमेत साथ दिएपछि सभामुख देवराज घिमिरेले बैठक एक घण्टाका लागि स्थगित गरेका छन् ।