Logo

‘संसारमा ईश्वर छन् भने तिनले पनि रेशम चौधरीलाई अपराधी प्रमाणित गर्न सक्दैनन्’



काठमाडौं, २३ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटनामा आफू दोषी नरहेको दाबी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले टीकापुर घटनामा आफूलाई ब्रम्हा, विष्णु महेश, बुद्ध, जिसस क्राईस्ट र मोहमदलेसमेत दोषी करार गर्न नसक्ने बताएका हुन् ।

‘यो संसारमा यदि ब्रम्हा, विष्णु महेश छन्, यो संसारमा यदि बुद्ध छन्, यो संसारमा यदि जिसस क्राईस्टको सपना छ, यो संसरमा यदि मोहमद छन् भने तिनले पनि रेशम चौधरीलाई दोषी प्रमाणित गर्न सक्दैनन्,’– उनले भने ।

टीकापुर घटनामा सबै भन्दा पहिले स्थानीय वासिन्दासमेत रहेका लक्ष्मण न्यौपानेका पिएसओको हत्या भएको उनको दाबी छ । टीकापुरवासी हत्यामा संलग्न भएको भए रामविहारु थारुको हत्या नहुने उनको दाबी छ । टीकापुरवासीले उक्त हत्या गरेका होइनन् भन्नेमा आफूहरु प्रष्ट रहेको उनले बताए ।

‘कसले भन्यो हान हान ? कहाँ छ मैले हानेको बन्चरो ? कहाँ छ मैले उठाएको खुकुरी ? त्यो घटना दुर्घटना भयो । भयो कसरी हामी पनि अचम्मका छौं क्याँ । कतिपय कुरा यस्ता हुन्छन् जुनकुरा नबोल्दिँदै ठीक हुन्छ । त्यहाँ सबै भन्दा पहिले रामविहारु थारु मरेका थिए । एसपी लक्ष्मण न्यौपानेको पिएसओ अर्थात घुमुवा रामविहारु थारुको हत्या भएको थियो । उनी स्थानीय थिए । यदि टीकापुरबासीले आन्दोलन गरेको भए रामविहारु थारु सहिद हुन्थे ?’ उनले प्रश्न गरे ।

 



प्रतिक्रिया दिनुहोस्