काठमाडौं, २३ जेठ । नेकपा (एमाले) का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको कुनै उपलब्धी नै नभएको बताएका छन् । आज (मंगलबार) संसद बैठकलाई सम्बोधन गर्दै ओलीले अहिले चर्चामा रहेको मुर्रा राँगो पनि आफूले पाँच वर्ष अगाडि नै कुराकानी गरेर र अहिलेको सरकारले दाम्लो समाएरमात्रै आएको बताएका हुन् ।
‘राँगो ल्याएको कुरा अलि आलोचित भयो भनेपछि त्यो त पाँच वर्ष अगाडि को प्रधानमन्त्री थियो ? उसैका पालमा कुरा चलाएको रहेछ । अहिले त हातमा दाम्लोमात्रै थमाइदिएको हो नि ।’ उनले भने, ‘आखिर आड त फेरि हाम्रै लिनुपर्ने रहेछ । केही भएको छैन । राँगोकै कुरा पनि केपी ओलीले नै गरेको रहेछ क्याँ गर्न चाहिँ । नश्ल सुधारका कुरा पनि केपी ओलीले गरेको रहेछ, फर्टिलाइजरका कुराहरु पनि केपी ओलीले नै गरेको रहेछ । हिजो मजाकको विषय बनाइएका कुरामै हिँड्नु परेको रहेछ नि त ।’