काठमाडौं,२४ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष २०८०८१ को बजेटले समाजवादलाई छुन नसकेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्दै यादवले मधेसीहरूलाई गोली ठोकेर जारी गरे पनि संविधानमा समाजवादउन्मुख अर्थव्यवस्था उल्लेख गरिएको तर बजेट समाजवादउन्मुख नभई विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको दावि गरे ।
उनले भने,‘बजेट समाजवादउन्मुख छँदै छैन । बजेट विकृत पुँजीवादी या नवउदारवादी सिद्धान्तमा आधारित रहेको छ । यस किसिमको बजेटले समाजवादउन्मुख बाटो पक्रन सक्दैन ।
समाजवादउन्मुख होइन समाजवाद विमुख बजेट रहेको छ । आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत हासिल गर्ने भनिएको छ । तर यो बजेटबाट ६ प्रतिशत वृद्धिदर हासिल गर्न असम्भव छ । यही तरिकाले अगाडी बढ्ने हो भने २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुन पनि सम्भव छैन । भ्रष्टाचारलाई नियन्त्रण गर्ने कुनै कन्ट्रोल प्लान छ ? कहीँ केही छैन त ।
कुरा गरेर भ्रष्टाचार नियन्त्रण हुँदैन । भ्रष्टाचार के गरी नियन्त्रण हुन्छ ? कसरी नियन्त्रण गर्ने हो ? त्यस विषयमा अध्ययन गरेर एक्शनप्लान अगाडी आउन आवश्यक छ । बजेट निर्माणमा अर्थमन्त्रालयका कर्मचारीको व्यक्तिगत स्वार्थ हाबी देखिन्छ ।’