काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को अध्यक्षमा वरिष्ठ अधिवक्ता केदार कार्कीले उम्मेदवारी दिने तयारी गरेका छन् । चितवनको टाँडीमा भोलि र पर्सी (जेठ २६ र २७ गते) हुने डीएलएको केन्द्रीय अधिवेशनमा वरिष्ठ अधिवक्ता कार्कीले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
स्वच्छ छवि अनुभवी कार्की प्रजातान्त्रिक आन्दोलनका योद्धासमेत हुन् । उनी काठमाडौं जिल्ला बारको अध्यक्ष, नेपाल बारको केन्द्रीय सदस्य भइसकेका छन् । डीएलएलाई अनुशाशसित र मर्यादित बनाउन वरिष्ठ अधिवक्ता कार्कीले विशेष भूमिका खेल्न सक्ने आंकलन गरिएको छ ।
युवा र पाका पुस्ताका कानुन व्यवसायीलाई जोड्ने एजेण्डाका साथ उनी मैदानमा उत्रन लागेका हुन् । वरिष्ठ अधिवक्ता कार्कीलाई संस्थापन पक्षले अध्यक्षको साझा उम्मेदवार बनाउन खोजेको छ ।डीएलएको अध्यक्षमा सीताराम केसी, लक्ष्मी रावल, लक्ष्मण थपलिया, तेज रावल, भूषण घिमिरेलगायतले पनि उम्मेदवारी दिन छलफल गरिरहेको चर्चा छ ।