Logo

माओवादी महासचिवलाई धमलाको प्रश्नः तपाईँहरु ‘ग्रेटर नेपाल’ को नक्सा राख्ने तयारीमा हो ?



काठमाडौं, २६ जेठ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले भारतले जारी गरेको ‘अखण्ड भारत’ को नक्साको आफूहरुले विरोध गर्ने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सांस्कृतिकताको नाममा कसैले पनि राजनीतिक सार्वभौमतालाई हस्तक्षेप गर्न नहुने बताएका हुन् ।

‘सांस्कृतिकताको नाममा अहिलेको राजनीतिक सार्वभौमतालाई हस्तक्षेप गर्ने गरी कसैले पनि त्यस प्रकारको प्रयोग गर्न हुँदैन भन्ने हो । भारतले कपिलवस्तु र लुम्बिनी समेटेर जसरी नक्सा बनाएर राखेको छ ।’ उनले भने, ‘त्यसले नेपालको सार्वभौम क्षेत्राधिकारलाई खण्डित गर्दछ । त्यसकारण हाम्रो फेरि पनि मागदावा हो यो नक्सा त्यसरी राखिन हुँदैन । सांस्कृतिक नक्साको नाममा राजनीतिक निकायमा त्यसरी राख्न मिल्दैन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा पनि यो विषय उठेको र कुटनीतिक तवरबाट समाधानको प्रयास भइरहेको उनको दाबी छ । आफूहरु अहिले नेपालको संसद् भवन र सरकारी कार्यालयमा ‘ग्रेटर नेपाल’ को नक्सा राख्ने हदसम्मको विरोधमा नजाने उनले बताए । भारतले यस ुसमस्याको समाधानलाई गम्भीरतापूर्वक नलिए माओवादी केन्द्र सडक संघर्षको लागि पनि तयार रहेको उनले बताए ।

‘नेपालले अखण्ड भारतको नक्साको बारेमा टिप्पणी गरेको कुरा त पब्लिक्ली आइरहेको छ नि,’– महासचिव गुरुङले भने । ‘उसो भए तपाईहरु ‘ग्रेटर नेपालको नक्सा राख्ने तयारीमा हो भन्ने धमलाको प्रश्नमा उनले भने, ‘भारतले ‘अखण्ड भारतको नक्सा राख्यो भन्दैमा हामी त्यही तहमा त जाँदैनौं । तर, संघर्ष हुँदै जानेक्रममा स्वीकार्य भएन भने विरोधका रुपमा के हुन्छ ? के हुँदैन ? अहिले भन्न सकिँदैन ।’

भारतले अहंकारवादी, सर्वसत्तावादी र विस्तारवादी प्रवृत्तिको सुरुवात गरेको उनको आरोप छ । उक्त विस्तारवादी प्रवृत्तिको विराधमा आफूहरु हरहमेशा लागि रहने पनि उनले बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot