Logo

नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छ : उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल



लुम्बिनी, २७ जेठ । भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपालले भारतीय पर्यटक आकर्षित गर्ने नयाँ योजना तथा कार्यक्रम बनाउनुपर्ने सुझाव दिएका छन्। उनले नेपालमा धार्मिक, सांस्कृतिक तथा प्रकृतिका क्षेत्रमा अद्वितीय पर्यटनको सम्भावना रहेको उल्लेख गर्दै यसतर्फ लक्षित कार्यक्रमबाट भारतीय पर्यटक नेपालतर्फ आकर्षित हुने धारणा राखे।

बिहीबार बुटवल र पाल्पामा पर्ने लुम्बिनी केबलकार उद्घाटन समारोहमा सहभागी हुन बुटवल आउनुभएका उनले भने, “नेपालसँग पर्यटनको अधिक सम्भावना छ, उत्तर प्रदेशमा मात्र २४ करोडभन्दा बढी जनसङ्ख्या छ, नेपालको सम्भावनाका हर क्षेत्रमा भारतीय पर्यटकलाई लक्षित गर्ने हो भने विदेशी पर्यटक खोज्न नेपाल धेरै टाढा जानै पर्दैन।”

उनले बुटवलमा बनेको लुम्बिनी केबलकार नेपालीका लागि मात्र नभई भारतीय पर्यटकका लागि पनि एक प्रमुख आकर्षण हुने बताए। भारतको उत्तर प्रदेश लुम्बिनी प्रदेशका तराईका जिल्लासँग सीमा जोडिएको प्रदेश भएकाले त्यहाँका जनताका लागि बुटवल र यहाँ बन्ने केबलकारलगायतका सबै खालका पर्यटकीय पूर्वाधार उनीहरुका लागि पनि आवश्यक गन्तव्य बन्दै जाने उनको धारणा थियो।

उत्तरप्रदेशबाट लोकसभाका सदस्य रहनुभएका पालले अब उत्तर प्रदेशका जनता केबलकार चढ्न हिमाञ्चल प्रदेश पुग्नुनपर्ने र लुम्बिनी केबलकार उनीहरुको पनि आकर्षण बन्ने बताए। रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot