Logo

राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री दाहाल



काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्पका साथ प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेको बताएका छन्।

पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन समुद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले निजी तथा सार्वजनिक संस्थासँगको सहकार्यमा सहजरूपमा जनतालाई सेवा उपलब्ध गराइरहेको उल्लेख गरे।

सवारी चालक अनुमति पत्र, राहदानी र राष्ट्रिय परिचयपत्र प्राप्त गर्न नागरिकले बेहोर्नुपरेको परेको हैरानीलाई सहज बनाएको स्मरण गर्दै उनले भने, “वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, समयमा नै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने जस्ता जनताको पक्षमा धेरै काम भइसकेका छन्। विकृति, बेथिति र भष्ट्राचार नियन्त्रणका लागि दृढताका साथ कठोर कदम चालिरहेका छौँ।”

नेपालीको शिर उच्च रहने गरी भारत सरकारसँग सम्झौता भएको उनले बताए। आफ्नो इच्छाअनुसार नै राष्ट्र, जनता, नेपालको आर्थिक उन्नति, विकास र समृद्धिको पक्षमा भारत सरकार र त्यहाँका नेताहरूसँग छलफल भएको उनको भनाइ छ।

“नेपाल र भारतको सीमामा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा जहिल्यै समस्या उत्पन्न हुने गरेको थियो। नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा अबको दिनमा सीमाको समस्या उत्पन्न हुँदैन भनेर पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता जनाएका छौँ”, उनले भने, “भारत भ्रमणको क्रममा उठाइएका विषयले नेपाल गौरवान्वित छ। उद्योगी व्यवसायी खुसी छन्। इतिहासमा पहिलो पटक राष्ट्रको हितमा काम गर्न पाएकोमा म खुसी छु।”



प्रतिक्रिया दिनुहोस्