Logo

प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका लेलिन भन्छन्, ‘के हामी अयोग्य हो त ?’ (भिडियोसहित)



काठमाडौं, २८ जेठ । पूर्व बालसैन्य लेलिन विष्टले माओवादी लडाकुहरुको व्यवस्थापनमा तत्कालीन सरकार र नेतृत्व चुकेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै विष्टले बारम्बार आफूहरुलाई अयोग्य भनेर डोमिनेट फिल गराएको बताए ।

‘विभिन्न समयमा क्यान्टोनमेन्टबाट निकालिसकेपछि सरकारसँग वार्ता भएको कुरा तपाईँहरुलाई जानकारी नै छ । कार्यन्वयनको पक्षमा सरकार र तत्कालीन नेतृत्व चुकेको देखिन्छ । बारम्बार हामीलाई अयोग्य, अयोग्य भनिरहिन्छ, के हामी अयोग्य हो त ? कोही मान्छे योग्य र अयोग्य कुनै व्यक्ति र संस्थाले भन्न पाउने हाम्रो संविधानले अधिकार छ कि छैन ?’– उनले प्रश्न गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकै क्याविनेटले आफूहरुमाथि अयोग्य शब्दको प्रयोग गर्दा आफूहरुलाई अपमान महशुस भएको उनले बताए । डोमिनेट फिल हुने शब्द प्रयोग गर्दा अपनाउन पर्ने सामन्य कुराहरु पनि नअपनाईएको उनको आरोप छ ।

‘प्रधानमन्त्री अहिले हुनुहुन्छ, उहाँ त हाम्रो पूर्व सर्वोच्च कमाण्डर उहाँको क्याविनेटबाट अयोग्य भन्ने शब्द प्रयोग भएपछि हामीलाई आत्मग्लानी हुनु स्वभाविक हो,’– उनले भने । माओवादी सशस्त्र युद्धका तत्कालीन सर्वोच्च कमाण्डर प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध युद्धको समयमा बालसैन्य प्रयोग गराएको अभियोगमा सर्वोच्चमा रिट दर्ता गराएका विष्टले आफूहरुलाई सर्वोच्चले न्याय दिन्छ भन्नेमा विश्वास रहेको बताए । सर्वोच्चबाट पनि न्यायको महशुस नभएको खण्डमा अन्तराष्ट्रिय अदालतको ढोका ढक्ढक्याउने उनले चेतावनी दिए ।

‘हिजो राजाको एकतन्त्रीय साशनमा राजको निर्णयलाई काट्न सक्ने सर्वोच्च अदालतले अन्याय गर्छ भन्ने हामीले महसुश गरेका छैनौं । न्यायको आशा भएर हामी अदालत गएका छौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्