Logo

सूर्ति सेवनबाट वार्षिक २७ हजार जना मर्छन्, गाँजाले एक जना पनि मरेका छैनन्ः शेरबहादुर तामाङ



काठमाडौं, २८ जेठ । नेपालमा नसर्ने रोगको प्रकोप तीव्र रुपमा विकास भइरहेको छ । यसको प्रमुख कारकको रुपमा धुम्रपान, मध्यपान र सूर्तिजन्य पदार्थलाई लिने गरिन्छ । सूर्तिजन्य पदार्थको प्रयोगबाट विश्वमा प्रतिमिनेट १९ जना मानिसको मृत्यु हुनेगरेको तथ्याङ्कहरु सार्वजनिक भइरहेका छन् । यसै सन्दर्भमा आज (आईतबार) नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा रिपोर्टर्स क्लब नेपालले ‘धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी अन्तरक्रिया गरेको छ । क्लबका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा भएको उक्त अन्तरक्रियामा विषयविज्ञ र सरोकारवाला निकायहरुको सहभागित थियो ।

पूर्व स्वास्थ्यमन्त्री तथा एमालेका नेता शेरबहादुर तामाङले नेपालमा सूर्तिको उत्पादन कम हुने र विदेशबाट नै धेरै ल्याउने बताए । उनले सरकारले सूर्तिजन्य कुराहरूमा कर लगाएको र त्यो करले अस्पताल बनाएको भन्ने गरेको बताउँदै भने, ‘क्यान्सर भन्सारबाट भित्र्याउने त्यो क्यान्सर भित्र्याएको पैसाले अस्पताल बनाएको भन्नुको के अर्थ हुन्छ ?’

उनले सूर्तिजन्य पदार्थ नेपाल भित्रिनेमै प्रतिबन्ध लगाउनुपर्ने बताए । वार्षिक सूर्तिजन्य पदार्थ प्रयोगका कारणले क्यान्सर भएर २७ हजार मान्छे मर्ने बताउँदै उनले भने, ‘गाँजा खाएर १ जना पनि मर्दैनन् ।’ सूर्तिबाट क्यान्सर हुने र त्यसको उपचार गर्न कहिलेकाँही करौडौँ खर्च गरेरपनि निको नहुने बताए । उनले भने, ‘जति सूर्तिबाट आउने करको कुरा गर्छौं त्यो भन्दा धेरै ठूलो खर्बौ पैसा नागरिकको क्यान्सरमा खर्च हुन्छ ।’

उनले नेपालभित्र सूर्ति उत्पादन रोक लगाउने र विदेशबाट आयातमा रोक लगाउनुपर्ने बताए । विगतमा गाँजा प्रतिबन्ध लगाउँदा सूर्ति सित्तैमा बाडेर मान्छेलाई क्यान्सर बाडेको उनको दाबी छ । गाँजाबाट क्यान्सरको औषधी बन्ने गरेको अनुसन्धानहरूले देखाएको उनको दाबी छ । गाँजाबाट बनाइएको औषधिबाट क्यान्सरको उपचार धेरै सस्तो भएको बताउँदै उनले भने, ‘१ करोड क्यान्सरको उपचारमा खर्च लाग्योभने गाँजाबाट बनेको औषधीले उपचार गर्दा १÷१.५ लाख रूपैयाँभन्दा कम पर्न सक्छ ।’

उनले सरकारले स्वास्थ्य बिमा लागु गर्नुपर्ने र शतप्रतिशत उपचार हुने बिमा योजना ल्याउनु पर्ने बताए । उनले आफ्नो स्वास्थ्यको बारेमा आफैलेपनि सोच्नुपर्ने बताए । सरकार र प्रतिपक्षमा रहेका दलहरूको सूर्ति र सूर्तिजन्य पदार्थ सेवन, आयात र उत्पादनमा प्रतिबन्ध लगाउनुपर्नेमा एकै हुनुपर्ने सुझाव दिए । सो कुरामा प्रतिबन्ध लगाएपछि अस्पताल खोल्नेकुरामा हुने अर्बौ रूपैयाँ खर्च अरू विकास निर्माणको कार्यमा खर्च हुने बताए ।



प्रतिक्रिया दिनुहोस्