Logo

माओवादी नेतालाई धमलाको प्रश्नः ‘प्रचण्ड तीन–तीन पटक प्रधानमन्त्री बन्दा पनि शान्ति प्रक्रिया किन निष्कर्षमा पुगेन ?’ (भिडियोसहित)



काठमाडौं, २९ जेठ । उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकले छिट्टै कानुनको रुपम ग्रहण गर्ने बताए । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले दीगो शान्ति आम जनताको चाहना भएकाले विधेयकले कानुनको रुप लिएपछि द्वन्द्वकालीन सबै समस्या समाधान हुने बताएका हुन् ।

‘हामीसँग अहिले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक अहिले संसद्मा दर्ता भएको छ । छिट्टै त्यसले कानुनको रुप लिँदैछ । कानुनको रुपम लिनेवित्तिकै सत्य निरुपण तथा मेलमिलाप आयोगहरु गठन हुन्छन् । यो कुनुन बन्नेवित्तिकै आयोग बनेपछि ती सबै समस्या आयोगमार्फत नै समाधान हुन्छ,’– उनले भने ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध युद्धकालमा बालसैन्य प्रयोग गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको उनको दाबी छ । यस विषय अदालतमा प्रवेश गरेकाले अदालतले तथ्य र प्रमाणका आधारमा विषय निष्कर्षमा पुर्याउने उनको भनाई छ ।

‘कसैले भन्नेवित्तिकै त्यो प्रमाणिक तथ्य हुन्छ भन्ने हुँदैन । अदालतमा पुगेको सबै विषय प्रमाणिक विषय नै पुग्छन् भन्ने छैन । अदालतले छानविन गर्छ, सही के हो ? सही के होइन भन्ने कुराको तथ्यपरक निष्कर्ष निकाल्छ ।’ उनले भने, ‘त्यसपछि पो ठीक के हो ? बेठिक के हो भन्ने कुरा आउँछ । अहिले नै दुरुपयोग गरेको भनेर निष्कर्ष निकाल्ने कुरा हुन्छ र ?’

‘प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्नु भएको छ । खोई त शान्ति प्रक्रिया निष्कर्षमा पुगेको ?’ भन्ने धमलाको प्रश्नमा उनले प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot