Logo

उपेन्द्र यादव र माधव नेपाल नयाँ ढंगले जानुभयो भने सरकार ढाल्छौंः एमाले उपमहासचिव रिमाल



काठमाडौं, २९ जेठ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) नयाँ ढंगले गएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको विकल्प खोज्न सकिने बताएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले एमाले सरकार ढाल्ने खेलमा नरहे पनि बजेटलाई लिएर सरकारको विरोध गरिरहेका सत्तारुढ दल नेकपा (एस) र जसपा नयाँ ढंगले अगाडि बढेमा विकल्प सोच्न सकिने बताएका हुन् । यद्यपि एमालेले स्थिरता चाहेकाले अहिले आफूहरुले अंक गणित गनेर नबसेको उनको दाबी छ ।

‘हामीलाई त्यसको चासो नै छैन । हामी अब विपक्षमा छौं । यो कोर्श पूरा हुन दिउँ । उहाँहरु चलाउनुस् । पाँचै वर्ष चलाउनुस्, छ वर्ष चलाउनुस् । तर, सत्तामा रहेको साथीहरुको दिनदिनैको शब्दहरु सुन्दाखेरि सरकार त चलाउनु हुन्छ के उहाँहरुले ? भन्ने चाहिँ लागेको छ ।’ उनले भने, ‘समाजवादी पार्टीका सांसदहरुले लयमा बोलिरहनु भएको छ । यो बोलेको उहाँहरु त्यहाँबाट बाहिरिन खोजेको हो कि अथवा बार्गेनिङ गरिररहनु भएकाृ छ ? त्यसले पनि अर्थ राख्छ । यो हिसाबले उहाँहरुले औपचारिक ढंगले जानुभयो भने नयाँ विकल्प सोच्न सकिन्छ ।’

बजेटका कुराहरुमा धेरै सैद्धान्तिक कुराहरुमात्रै आए । त्यसमा ठोस कुराहरु आएनन्, उपायहरु आएन । यो के हो भनेर माननीय ज्यूहरु सदनमा बोलिरहनु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटले अहिलेको समस्या समाधान गर्न नसक्ने उनको दाबी छ । सत्तामा रहेका शीर्ष नेताहरुले नै आक्रोशपूर्ण अभिव्यक्ति दिइरहेको उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot