Logo

समाजवादी शक्तिहरुसँग एकताका लागि माधव नेपाल तयार



काठमाडौं, २९ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा पार्टीले जनताको मन जित्न नसक्ने बताएका छन् । आज (सोमबार)  पार्टीनिकट समाजवादी प्रेस संगठनको नव निर्वाचित केन्द्रीय कमिटीलाई शुभकामना दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको अवस्थालाई परिवर्तन गर्न आवश्यक रहेको बताएका हुन् ।

‘अहिले हामी जसरी अगाडि बढेका छौं, यो सम्बन्धलाई यथावत राखेर हामी जनताको विश्वास जित्न सक्दैनौं । यो अवस्थालाई परिवर्तन गर्न पर्ने अवस्था छ,’– अध्यक्ष नेपालले भने ।

अहिले समाजमा ‘व्यवस्था बदलियो, अवस्था बदलिएन,’ र ‘व्यवस्था पनि बदलिएको छैन, अवस्था पनि बदलिएको छैन’ भन्ने दुई थरीका भाष्यहरु निर्माण भएको उनले बताए । ती दुवै भाष्य गलत रहेको अध्यक्ष नेपालको दाबी छ । नेपालमा व्यवस्था पनि बदलिएको जनताको अवस्था पनि बदलिएको तर अपेक्षाअनुरुपको परिवर्तन गर्नु पर्ने खाँचो रहेको उनले बताए ।

आफूले नेपालका सबै समाजवादी र वामपन्थी शक्तिहरुलाई गोलबद्ध गरेर लान चाहेको उनको भनाई छ । नेकपा (एस) सँग हातेमालो गरेर अगाडि बढ्न चाहनेहरुसँग सहकार्यको ढोका खुल्ला रहेको उनले संकेत गरेका छन् । पार्टीको अस्तित्वलाई समाप्त पार्न चाहनेहरु र नेकपा (एस) को महत्व र भूमिकालाई अस्विकार गर्नेहरुसँग चुनौति सामना गर्न तयार रहेको पनि उनले बताए ।

‘हामी चाहन्छौं, यस्तो स्थितिमा देशका सबै समाजवादी शक्तिहरु, वामपन्थी शक्तिहरुलाई एकताबद्ध गरेर लाने । जो–जो हामीसँग एकताबद्ध भएर चल्न चाहन्छ, हामीसँग हातेमालो गर्दै अगाडि बढ्न चाहन्छन्, तिनीहरुसँग हामी अगाडि बढ्छौं,’–अध्यक्ष नेपालले भने ।

आफूहरुले खेल्न सक्ने भूमिका र ल्याउन सक्ने परिणाम नबिर्सन उनले नेता कार्यकर्तालाई आग्रह गरे । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्