Logo

पहिलो पटक अदालतले संविधान उल्लङ्घन गर्यो, दोस्रो पटक प्रधानमन्त्री प्रचण्डलेः एमाले नेता पौडेल (भिडियोसहित)



काठमाडौं, ३० जेठ । नेकपा (एमाले) का नेता दामोदर पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधान उल्लङ्घन गरेको अरोप लगाएका छन् ।

हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पहिलो पटक शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएर सर्वोच्चले संविधानको उल्लङ्घन गरेको र दोस्रो पटक प्रधानमन्त्री प्रचण्डबाट संविधानको उल्लङ्घन भएको बताएका हुन् । पहिलो सदनमा अहिलेका राष्ट्रपति र अहिलेको सबै सांसद नरहेकाले थाहै नभएको नामगरिकता विधेयक प्रमाणीकरण संविधानको मर्म विपरीत रहेको उनको दाबी छ । सरकार अविच्छिन्न उत्तराधिकारी भएपनि संसद् अविच्छिन्न उत्तराधिकारी हुन नसक्ने उनको दाबी छ ।

‘संविधान त ठाडै उल्लङ्घन भयो । दोस्रो पटक संविधान मिचियो । पहिलो पटक सिधै चार बजे शपथ खुवाउ शेरबहादुरलाई भनेर अदालतले आदेश दियो । संसद्ले बनाउने हो नि सरकार । अहिले नागरिकता विधेयक अदालतमा पुगेको हुनाले हामी धेरै बहस गर्न चाहँदैनौं । तर, संविधान उल्लङ्घन गर्न कसैले पनि पाईदैन । उल्लङ्घन भयो । र त्यो उल्लङ्घन भएको कुरा प्रधानमन्त्रीले भारत भ्रमणबाट फर्किएपछि स्वीकार गर्नुभयो,’– उनले भने ।

प्रधानमन्त्री प्रचण्डले संसद्को नेता प्रधानमन्त्री हुन्छ भनेर ढाँटेको उनको आरोप छ । अहिलेको सरकारका प्रधानमन्त्री प्रचण्डले विधायिकी अधिकार र सर्वोच्चको न्यायिक अधिकार पनि खोसेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्