Logo

बजेटमा असन्तुष्टि बढेपछि सत्तागठबन्धन सम्हाल्दै प्रधानमन्त्री, समाधान गर्ने सहमति



काठमाडौं, ३० जेठ । सत्तागठबन्धनकै दलहरूबीच सरकारले ल्याएको आगामी वर्षको बजेटमा असन्तुष्टि बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  असन्तृष्टि समाधान गर्ने प्रयास गरेका छन्।

सत्तागठबन्धनका दुई शीर्ष दल कांग्रेस र माओवादी केन्द्रका सांसद्‍हरूले बजेटमा खास्सै असन्तृष्टि नदेखाउँदा एकीकृत समाजवादीलगायतका साना दलहरूले बजेटप्रति सार्वजनिक रूपमा नै चर्को असन्तुष्टि देखाइरहेका छन्।

एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बजेटप्रति असन्तुष्टि देखाउँदै सरकारले ढाल्नेसम्मको चेतावनी दिएका थिए।

एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका नेताहरूले बजेट विनियोजन गर्दा बजेट पहुँचका आधारमा आफ्नो क्षेत्रमा मात्रै केन्द्रित गरेको भन्दै संशोधन नभए पारित हुन नदिनेसम्मको चेतावनी दिँदै आएका छन्।

यसैबीच, चर्को असन्तुष्टि बढेपछि प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका असन्तृष्ट दलहरूलाई सन्तुष्ट पार्न खोजेका छन्।उनले बजेट विनियोजनप्रति चर्को असन्तुष्टि जनाउने सत्तारूढ दलहरूसँग छुट्टाछुट्टै र सामूहिक छलफल थालेका छन्।

उनले आज(मंगलबार) आफ्नो सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका असन्तुष्ट नेताहरूको  बैठक बोलाई उनको असन्तुष्टि मागलाई समाधान गर्ने सहमति गरेका छन्।

आज बिहान बसेको बैठकमा सत्तारूढ दलबीच देखिएको असन्तुष्टिलाई समाधान गर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू सहभागी रहेका थिए।



प्रतिक्रिया दिनुहोस्