Logo

सभापति देउवाविरुद्ध झनै आक्रमक बन्दै गगन



काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसभित्र यतिबेला फेरि आन्तरिक द्वन्द्व मौलाएको छ । पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीचको असन्तुष्टि चुलिएको छ । ‘उत्साह, एकता, रूपान्तरण’ को नारा लिएर १४औं महाधिवेशनमा होमिएको कांग्रेसमा उत्साह भन्दा पनि निराशा, एकताको साटो विग्रह र रुपान्तरणको साटो यथास्थितिवाद मौलाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको सहभागी रहेको कांग्रेसभित्र यतिबेला सभापति देउवाको एकाधिकार व्यक्तिवादी चरित्रको कारण असन्तुष्टि बढ्दै गएको छ । पछिल्लो समय सरकारले गरेका दुईवटा महत्वपूर्ण निर्णय रेशम चौधरीको आम माफी र नागरिकता विधेयक प्रमाणीकरणमा कांग्रेसभित्र छलफल नै नभएको र सभापति देउवा एक्लैले निर्णय लिएको महामन्त्री थापाको आरोप छ ।

केही समयदेखि महामन्त्री थापाले सभापति देउवाको खुलेरै विरोध गर्न थालेका छन् । यथास्थितिका कांग्रेस रहन नसक्ने भएकाले अब देउवाले मार्ग प्रशस्त गर्नुको विकल्प नरहेको उनको भनार्य छ । पार्टीभित्र देउवाको एकलौटी निर्णयका कारण राम्रो सम्भावना बोकेका र जनतामाझ लोकप्रिय नेताहरुले पार्टी परित्याग गर्ने लहरसमेत सुरु भइसकेको छ ।

‘कांग्रेसको नेतृत्व मैले गरिराख्नुपर्छ, मैले गरिन भने पार्टी सम्हालिन्न’ भन्ने सोचाइबाट देउवा बाहिर निस्कन आवश्यक रहेको गगनको भनाई छ । देउवाले जतिसक्दो छिटो नेतृत्व हस्तान्तरण गर्नु नै पार्टीको हितमा हुने उनको दाबी छ । देउवा पाँच÷पाँच पटक प्रधानमन्त्री र दुई पटक पार्टी सभापति भइसकेकाले अब युवाहरुले नेतृत्व हस्तान्तरण भएको हेर्न चाहेको उनको भनाई छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्