काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) का नेता विशाल भट्टराईले पार्टीमा ७० वर्षे उमेर हद कायमै रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता भट्टराईले नेकपा (एकीकृत समाजवादी) परित्याग गरेर एमालेमै फर्किएका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय कमिटीमा ल्याउनका लागि केही क्षणका लागिमात्रै विधानको धारा निलम्बन गरिएको बताए । अहिले एमालेका ७० वर्षे उमेर हद कायमै रहेको उनको दाबी छ ।
‘उमेर हद हटेको होइन । हामीले विधानको एउटा धारा निलम्बन गर्यौं । निलम्बन गरियो । त्यसपछि मुकुन्द न्यौपानेलाई केन्द्रिय कमिटीमा ल्याउन थियो । माधव नेपालपछिको वरिष्ठ नेता उहाँ । उहाँ एमालेमा आउनु भयो । धेरै मान्छे लिएर आउनु भयो । उहाँलाई केन्द्रीय कमिटीको सदस्यता दिनु थियो । उहाँ ७० वर्ष कट्नु भएको रहेछ । एक पटकलाई निलम्बन गरियो ।’ नेता भट्टराईले भने, ‘फेरि अहिले तपाईँले म सँग कुरा गरिरहेको बेला चाहिँ ७० वर्षे नै हाम्रो विधानमा कायम छ । निलम्बन भनेको एकछिनका लागि गर्ने कुरा हो । फेरि पुरानै स्थिति भइगयो नि । ७० लागू छ हाम्रो पार्टीमा ।’
पार्टीमा वामदेव गौतम आउने परिस्थिति बनेको खण्डमा विचार गर्न सकिने उनको भनाई छ । गौतम अस्थिर नेता रहेको उनले टिप्पणी गरे । एमालेमा आएर सल्लाहकार बस्ता गौतमका लागि झनै उपयोगी हुने उनको भनाई छ ।
एमालेको केन्द्रीय समिति बैठकले पार्टी विधानमा रहेको ७० वर्षे उमेर हद निलम्बनको निर्णय गरेको थियो । नेकपा (एमाले) को विधानमा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था रहेको छ । ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनित भएको व्यक्तिले अर्को अधिवेशन वा महाधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनित भएको पदमा रही जिम्मेवारी वहन गर्न यस धाराले बाधा नपुग्ने व्यवस्थासमेत गरिएको छ । File Photo/Reporters Nepal