Logo

छिट्टै वामपन्थी मोर्चा घोषणा हुने



काठमाडौं, ३१ जेठ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ समाजवादी आन्दोलनका पक्षधरहरुसँग छिट्टै मोर्चा बनाउने तयारी रहेको बताएका छन् । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका दिवंगत नेता डिआर पौडेलको चौथो स्मृति सभालाई सम्बोधन गर्दै उनले सकेसम्म सच्चा वामपन्थीहरुका बीचमा एकता र ध्रुवीकरणको आवश्यकता छ र त्यसलाई अगाडि बढाउन पर्छ भन्ने सोचमा आफू अगाडि बढेको र सोही अनुसार काम भइरहेको बताएका हुन् । निकट भविष्यमै यसको परिणाम देखिने प्रचण्डको दाबी छ ।

‘समाजवादीहरुको, समाजवादी क्रान्ति र समाजवादी आन्दोलनका पक्षधरहरुको एउटा बृहत्तर मोर्चा बनाउने तयारीमा छौं । विचारको हिसाबले अबको नेपालको समाजवादी क्रान्तिको बाटो कस्तो भन्ने कुराको हामी खोजी गर्दै छौं । हामी अगाडि बढ्दै छौं ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सकेसम्म सच्चा वामपन्थीहरुका बीचमा एकता र ध्रुवीकरणको आवश्यकता छ र त्यसलाई अगाडि बढाउन पर्छ भन्ने पनि हामीले सोचिराखेकै छौं । हामीले समाजवादी मोर्चा निर्माणको पक्रियालाई पनि अगाडि बढाएका छौं । मलाई लाग्छ, तपाईँ हामी सबैले छिट्टै परिणाम देख्नेछौं ।’

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पनि आफ्नो प्रतिवेदनमा वामपन्थीहरुको अस्तित्व जोगाउनका लागि एकताको आवश्यकता रहेको बताएका थिए । माओवादी केन्द्रले समाजवादी मोर्चा बनाउनका लागि कार्यदल नै बनाएको छ । उक्त कार्यदलले निरन्तर छलफल र संवादसमेत गरिरहेको छ । माओवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी लगायतका पार्टीबीच मोर्चा बनाउने विषयमा छलफल र संवाद भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot