Logo

अन्तरजातीय प्रेमकै कारण अपहरण र जबरजस्ती करणीको मुद्दा, सांसदहरुले गराए ध्यानाकार्षण



काठमाडौं, ३२ जेठ । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य शान्ति वि.क. ले अन्तरजातीय प्रेम सम्बन्धकै कारण बागलुङका प्रभात बस्याललाई बालात्कार, अपहरण र शरीर बन्धकको झुठा मुद्दा लगाइएको बताएकी छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले बस्याल दलित भएकै कारण प्रिति घिमिरेको परिवारले बालात्कार, अपहरण र शरीर बन्धकको झुठा मुद्दा लगाएको बताएकी हुन् ।

‘समाजको जातीय विकृति र विसंगतिले गर्दा प्रेमजस्तो पवित्र शब्दको दुरुपयोग भएको छ । प्रभात बस्याल र प्रिति घिमिरेबीचको तीन वर्षदेखिको प्रेम सम्बन्धमा जातीय विभेदको ग्रहण लागेको छ ।’ उनले भनिन्, ‘प्रभात बस्याल दलित भएको कारण प्रितिको परिवारले स्वीकार नगर्ने बुझेर उनैको सल्लाह अनुसार इन्डियामा केटा आफन्तको घरमा रहँदा प्रिति घिमिरेको परिवारले दुवैलाई स्वीकार गर्ने बहानामा बोलाई प्रभातमाथि खुटपिट गर्नुका साथै, बालात्कार, अपहरण र शरीर बन्धकको झुठा मुद्दा दायर गरेको छ ।’

प्रत्येक व्यक्ति सम्मान पूर्वक बाँच्न पाउने संवैधानिक हक दलित समुदायका लागि भने लागू हुन नसकेको उनले गुनासो गरिन् । ‘दलित समुदाय कहिलेसम्म जातीय विभेदको आगोमा जल्नुपर्ने हो ?’ भनि उनले सभामुखमार्फत सरकारसँग प्रश्न सोधिन् ।

सोही विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य शिव नेपालीले पनि संसद् र सरकारको ध्यानाकार्षण गराए । उनले उक्त घटनामा गम्भीर छानविन गर्नसमेत सरकारलाई आग्रह गरे । अहिलेको शिक्षित समाजमा फोहोर दिमागलाई त्यागेर मानवतामा बदल्न सक्ने शिक्षाको आवश्यक रहेको उनले बताए ।

‘प्रेम गरेकै कारण बागलुङका प्रभात बस्याल जातीय भेदभावका कारण अपहरण र जबरजस्ती करणजस्तो जघन्य अपराधको भागी हुनुपरेको छ । यस विषयमा गम्भीरतापूर्वक छानविन होस् भनि सरकारको ध्यानाकार्षण गराउन चाहन्छु,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot