Logo

तीन जिल्लामा ५१ प्रतिशत बजेट विनियोजन



काठमाडौं, ३२ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले ५१ प्रतिशत बजेट तीन जना सांसदको क्षेत्रमा मात्रै विनियोजन गरिएको भन्दै आपत्ति जनाएका छन् ।
आज (बिहीबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै गोरखा, डडेलधुरा र नुवाकोटमा मात्रै ५१ प्रतिशत बजेट विनियोजन भएको र यसले सबै क्षेत्रको समानुपातिक विकासमा नकारात्क असर पार्ने बताएका हुन् ।

अहिलेको बजेटकै बारेमा ‘कुराजस्ता कुरा गरौं भने चित्त फाट्ने, नाच जस्तो नाच गरौं भने धागर फाट्ने ।’ ५१ प्रतिशत बजेट तीन जनाको भागमा, बाँकी अरु बजेट अरु सांसदको क्षेत्रमा । यस्तो भेदभाव, यस्तो पक्षपात, जस्तो बजेटमाथि के छलफल गराइरहेको ? यस्तो बजेटमाथि पनि छलफल गराउनुको औचित्य छ ?

खर्च कटौतीका लागि गोरखा, डडेलधुरा र नुवाकोटमा विनियोजन भएको बजेट कटौती गर्नुपर्ने उनको माग छ । ५१ प्रतिशत बजेट तीन वटा निर्वाचन क्षेत्रमा विनियोजन गरेपछि अरु सांसदहरु आफ्नो क्षेत्रमा जानुको औचित्य नहुने उनको भनाई छ ।

‘खर्च कटौति गर्ने हो भने गोर्खामा परेको बजेट कटौती गर्नुपर्छ । डडेलधुराको बजेट कटौती गर्नुपर्छ र नुवाकोटको बजेट कटौती गर्नुपर्छ । अरु बाँकीले चाहिँ के भन्न जाने आफ्नो क्षेत्रमा ?’ केसीले प्रश्न गरे ।

बजेट बन्न थालेपनि सांसदहरु संसद् छोडेर मन्त्रालय र मन्त्रीको ढोका–ढोकामा पुगेको उनको आरोप छ । अहिलेको बजेटको औचित्य नै नरहेको बजेटको विषयमा छलफल गर्नुको औचित्य पनि नभएको बताए ।



प्रतिक्रिया दिनुहोस्