काठमाडौं, १ असार । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले केपी शर्मा ओलीको व्यक्तिगत व्यवहार र प्रवृत्तिका कारण एमालेलाई समाजवादी मोर्चामा समावेश गराउन नसकिएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले समाजवादी मोर्चा बनाउने सन्दर्भमा एमालेसँग कुनै मतभेद नभएपनि ओलीको व्यक्तिगत स्वभव र शैलीका कारण प्रस्ताव नगरिएको बताएका हुन् ।
‘एमालेसँग त्यस्तो केही कारण हाम्रो होइन, सोच्ने दृष्टिकोणहरुमा केही विविधता छ । एमालेका अध्यक्षको शैली र स्वभावले केही अप्ठ्याराहरु पैदा गरेको छ । यद्यपि उहाँले मीठो तरिकाले, शैलि मिलाएर, तरिकाबद्ध तरिकाले उहाँले अरुलाई आरोप लगाउनु हुन्छ । उहाँको कटाक्ष गर्ने शैली र तरिकाको कारणले, हिजै जोगाएको भए हुन्थ्यो नि उहाँले नेकपा ?’ उनले भने, ‘उहाँ पहिलो अध्यक्ष, प्रधानमन्त्री, संसदीय दलको नेता भएर पनि त्यतिबेला जोगाउन सक्नु भएन । उहाँको तरिकासँग अरुको तरिका मिलिरहेको छैन । एमालेसँग पार्टीगत हिसाबले विवादको कुरा होइन । उहाँको व्यक्तिगत शैलीका कारण केही समस्याहरु पैदा भएका छन् ।’
अहिले माओवादी केन्द्र नेपालका वामपन्थी र लोकतान्त्रिक शक्तिसमेतलाई मिलाएर मोर्चा बनाउने अभियानमा रहेको बताए । वामपन्थी शक्ति टुटफुट, विभाजन र फेरि एकता यो चक्रबाट अगाडि बढेको तीतो अनुभूति आफूसँग रहेको भन्दै उनले यो मोर्चालाई दीगो बनाउनु भविष्यका लागि आवश्यक रहेको बताए । File Photo/Reporters Nepal