काठमाडौं, १ असार । नेकपा (एमाले) का स्थायी समिति सदस्य एवं पूर्वमुख्यमन्त्री भीम आचार्यले कम्युनिष्ट भनिने नेताहरुमा सामन्तवादी दुर्गुण व्यप्त रहेको टिप्पणी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा नेता आचार्यले कम्युनिष्ट नेताहरुमा पद र पोजिसनको लागि बेला–बेलामा अन्तरविरोध, झगडा र प्रतिस्पर्धा हुने गरेको बताएका हुन् । पद र पोजिसनकै लागि कम्युनिष्टहरुले सिद्धान्तको लेपन लगाएर पार्टी विभाजन गर्ने गरेको उनको आरोप छ ।
‘कम्युनिष्ट भन्ने नेताहरुमा सामन्तवादी दुर्गुणहरु व्याप्त छ । आफ्नो पद र पोजिसनका लागि उनीहरुबीचमा अन्तरविरोध, झगडा र प्रतिस्पर्धा हुन्छ र त्यसलाई सिद्धान्तको लेपन लगाएर पार्टी विभाजन हुँदै आएको छ,’– नेता आचार्यले भने ।
अहिलेको समाजवादी मोर्चामा सहभागी हुनका लागि एमालेमा प्रस्ताव नै नआएको उनले बताए । साना–साना टुक्राटुक्री भएर दोकान खोलेर बस्नु भन्दा वामपन्थी पार्टीहरु एक हुँदै जानु राम्रो रहको उनको भनाई छ ।
अहिले तत्काल समाजवादी मोर्चामा एमाले सहभागी हुने सम्भावना आफूले नदेखेको आचार्यले बताए । उनले कालन्ततरमा वामपन्थी शक्तिहरु एक हुनुको विकल्प नरहेकाले त्यसको आवश्यकता औंल्याएका छन् । नेकपा विभाजन हुनु नै कम्युनिष्टहरुका लागि नराम्रो भएको उनले बताए । यद्यपि नेकपा विभाजनमा एक जनामात्रै दोषी नभएर सबैको भूमिका रहेको उनको भनाई छ ।
‘पहिलो कुरा त हामीले नेकपा गठन गर्दा वामपन्थीहरुको सशक्त पार्टी थियो । त्यो जोगिएन । त्यो नजोगिनुमा एक जनालाईमात्रै दोष दिनु उपयुक्त हुँदैन । नेपालको क्युनिष्ट आन्दोलन र वामपन्थी आन्दोलनका शृङ्खला हेर्दा व्यक्तिगत महत्वकांक्षाका लडाई, पदको लडाई र पदको लडाईलाई जष्टिफाई गर्नका लागि सिद्धान्त मिलाउने यो तरिका वामपन्थीहरुमा रहँदै आएको छ,’– उनले भने ।