Logo

नक्कली शरणार्थी प्रकरणः जाहेरवालामाथि ज्यानको खतरा बढेको अधिवक्ता नेपालको दाबी



काठमाडौं, २ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्व संविधान सभा सदस्य आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मिँया लगायत १६ जना पूर्पक्षका लागि जेल चलान भएका छन् । तत्काल प्राप्त प्रमाणका आधारमा उनीहरु उक्त प्रकरणमा संलग्न रहेको भन्दै काठमाडौं जिल्ला अदालतले हिजो (शु्क्रबार) पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

अभियुक्तहरु जेल चलान भएपनि जाहेरवालामाथि खतरा बढेको अधिवक्ता स्वागत नेपालको दाबी छ । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै अधिवक्ता नेपालले डरकै कारण अझै पनि कतिपय जाहेरवाला सार्वजनिक हुन नसकेको बताए ।

‘तत्काल प्राप्त प्रमाणका आधारमा अहिले उहाँहरुको संलग्नता कसुरदार हो भन्ने विश्वास गर्न सकिने गरी देखिएको छ । धेरै मान्छेहरु जाहेरी दिनबाट डराएर बसेका छन् । अझै पनि जाहेरवालाहरु सार्वजनिक भएका छैनन् । उनीहरुमाथि ज्यानको खतरा छ,’– अधिवक्ता नेपालले भने ।

सरकारले नीतिगत रुपमै दुवई, कतार, मलेसियामा नेपाली नागरिक बेचिरहेको उनको दाबी छ । धेरै भाउ आउने भएकाले भुटानी बनाएर नेताहरुले बेचेको उनले टिप्पणी गरे । गत मंसिरको आम निर्वाचनपछि बनेको सरकारले जिल्ला–जिल्लाबाटै युवालाई बेच्ने निति बनाएको उनको आरोप छ । नयाँ पुराना सबै दलहरु देश बेच्ने, नागरिकता बेच्ने, नेपालको नागरिकता भनेको केही होइन, नेपाली हुनु भनेको केही होइन भन्ने म्यासेज संसारभरी पुर्याउन तल्लिन रहेको उनको आरोप छ ।

२०४६ सालपछि एउटै प्रयत्नमा बेग्लाबेग्लै नाम गरेको सबै दलको काम एकै भएको उनले बताए । ‘यिनीहरुको एउटै प्रयत्न छ नेपालको नागरिकता केही होइन भन्ने विश्वलाई म्यासेज दिने । नागरिकता विहीन मान्छे नागरिकता दिने मन्त्रालयको मन्त्री भएको छ । हिजो दुवई, कतार, मलेसिया नेपाली नै राखेर बेचेकै हो, आज भुटानी बनाएर बेचेको अलि बढी भाउ आउँछ भनेर हो,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्